२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै

Nada
२०८१ असोज १७ गते १४:४४
Shares
बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलन गरिँदै

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न थालेको छ ।

ncell

यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण संकलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थलगत अनुगमनमा निस्किएको हो ।

बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताइन् । “नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिरोले ठूलो क्षति गरेको छ”, उनले भनिन् “बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण संकलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।”

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण संकलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिइन् ।

दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उनले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिइन्।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु. ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुंगा गाउँपालिका-१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित भण्डारेघाटको झोलुंगे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिए।

उनका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँच वटा झोलुंगे पुलहरू गत शनिबार आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताए।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

ताजा खबर

सम्बन्धित खबर