२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

पैसा नभएका कारण उपचारबाट बञ्चित हुनुपर्दैन : मुख्यमन्त्री आचार्य

shivam cement
२०८१ असोज १७ गते २१:३४
Shares
पैसा नभएका कारण उपचारबाट बञ्चित हुनुपर्दैन : मुख्यमन्त्री आचार्य

गोरुसिंगे : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अभावका कारण उपचारबाट कोही पनि बञ्चित नहुने बताएका छन् । 

कपिलवस्तुमा सामुदायिक डायलाइसिस स्वास्थ्य  सेन्टरको  उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक नागरिकले स्वास्थ्य उपचार पाउनु र त्यो व्यवस्था मिलाउने जिम्मेवारी सरकारको भएकोले आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहुने गरी लुम्बिनी प्रदेशमा प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताए । 

कपिलवस्तुमा मिर्गौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको हो  । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएपछि स्थानीयबासी हर्षित छन् । मिर्गौला फेल भएका बिरामीहरु यसअघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । दश वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा दिन सक्ने क्षमता रहेको सेन्टरले जनाएको छ । पाँच करोडको लागतमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए  । एक जना बिरामीले हप्ताको दुई दिनदेखि तीनसम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरका अध्यक्ष आलमले बताए ।  लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिँदै आएका छन् । चार वटा शाखा र एउटा अस्पताल गरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिँदै आएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका खेलेकोले सबैले साथ सहयोग गरेमा थप काम गर्न हौसला मिल्ने बताए ।   उनले गुणस्तरीय स्वास्थ्य सेवा दिन सामुदायिक अस्पतालहरुसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे  । पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनीय योगदान पु¥याएको बताउँदै  सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्नेमा जोड दिए । नसर्ने रोगबाट मानिसहरु धेरै पीडित हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का इमिडेट पास्ट डिष्ट्रिक गभर्रन राजेन्द्र प्रसाद ध्वजु, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, बुद्धभूमी नगरपालिकाका प्रमुख केशवु श्रेष्ठ, कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष दिनेशराज रेग्मी, रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष ज्ञानहरी न्यौपाने, कपिलवस्तु जेसीजका अध्यक्ष प्रविण पौडेल, मृगौला रोग विशेषज्ञ डा.रजत कायस्थ लगायतले शुभकामना मन्तव्य राखेका थिए । अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बाबुराम बोहराले गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर