२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

मध्यपूर्वको बढ्दो तनावले वैदेशिक रोजगारमा रहेकाहरु प्रभावित

ADV
मध्यान्ह
२०८१ असोज १९ गते ०६:३०
मध्यपूर्वको बढ्दो तनावले वैदेशिक रोजगारमा रहेकाहरु प्रभावित

काठमाडौं : मध्यपूर्वमा तीव्ररुपमा बढ्दो तनावको बीचमा एशिया–प्रशान्त राष्ट्रहरुले वैदेशिक रोजगारीमा रहेका आफ्ना हजारौं नागरिक र अन्य बासिन्दाहरुलाई इजरायल र लेबनानबाट बाहिर निकाल्न हतार गरिरहेका छन् । उनीहरुले युद्धका कारण विमानस्थल नै क्षतिग्रस्त भइ भविष्यमा उद्धार कठिनाइ हुने आंकलन गर्दै हतार गरेका हुन् । 

आफ्ना नागरिक फर्काउन ढिलाइ भएमा यसअघि कोरोना अवधिमा जस्तो समस्या सिर्जना हुने कतिपयको आंकलन छ । कोरोनाको अवधिमा कतिपय आप्रवासी कामदार आफूले पाउनुपर्ने तलब सुविधा छोडेर हतार हतारमा स्वदेश फर्किनुपरेको थियोे । रुस–युक्रेन युद्ध चलिरहेको बेला मध्यपूर्वमा देखिएको तनावले समस्या लम्बिने आंकलन गरिएको छ । शुक्रबार एशियाली शेयर बजारमा पनि ठूलो गिरावट आएकोे छ ।

फिलिपिन्स, इन्डोनेसिया, दक्षिण कोरिया र अष्ट्रेलिया जस्ता देशका अधिकारीहरुले लेबनानको बेरुत एयरपोर्ट खुला रहँदा आफ्ना मानिसहरुलाई घर ल्याउन चार्टर्ड उडानहरु शुरुवात गरेकोे बताएका छन् । दक्षिण कोरियाले आफ्ना नागरिकहरुलाई छिटो स्वदेश फर्काउन सैन्य विमान तैनाथ गरेको छ । 

इजरायल र इरानका साथै तेहरान समर्थित मिलिशिया हिजबुल्लाह र हमासबीच झडप तीव्र बन्दै गएपछि आफ्ना नागरिक फस्ने चिन्ताले उनीहरु जतिसक्दो छिटो उद्धारको तयारीमा जुटेका हुन् । इजरायलले मध्य बेरुतमा गरेको बम आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

फिलिपिन्स सरकारले लेबनानबाट स्वदेश फिर्ता हुन खोजेका ११ हजारमध्ये १ हजार २ सय भन्दा बढीका लागि उडानहरु चार्टर गर्ने बताएको छ ।

तर लेबनानमा विष्फोटका कारण उडान रद्द वा डाइभर्ट गर्न खोजिएको छ भने इजरायल र लेबनानका लागि उडानहरु रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लेबनानको बेरुत एयरपोर्ट बन्द हुने सम्भावनाका कारण लेबनानबाट जमिन र समुद्रबाट बाहिर निस्कने विकल्पहरु खोजी भइरहेको छ ।

मध्यपूर्व र लेबनानमा आप्रवासी कामदारहरुलाई कसरी सुरक्षित स्थानमा लैजान सकिन्छ भन्नेबारे थप सहयोग उपलब्ध गराउन तयारी भइरहेको राष्ट्रसंघले बताएको छ । इन्डोनेसियाले पनि लेबनानबाट आफ्ना नागरिकहरुलाई बाहिर निकाल्न थालेको छ । बेरुतमा रहेको इन्डोनेसियाको दूतावासले अगष्टदेखि कम्तीमा २५ इन्डोनेसियालीहरुलाई फिर्ता पठाएको छ । 

इन्डोनेसियाली दूतावासले प्रत्येक इन्डोनेसियालीसँग आ–आफ्नो क्षेत्रमा सम्पर्क राख्न आग्रह गरेकोे छ । लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बलको एक भागको रुपमा इन्डोनेसियाका करिब १ हजार सैन्य कर्मचारीहरु पनि छन् ।

दक्षिण कोरियाले मध्यपूर्वबाट आफ्ना नागरिकहरुलाई बाहिर निकाल्न सैन्य विमान पठाइसकेको र अन्तर्राष्ट्रिय समुदायसँग नजिकको सहयोगको आवश्यकतामा जोड दिएको छ । दक्षिण कोरियाले यसअघि सन् २०२३ मा इजरायल र सुडानबाट आफ्ना नागरिकहरुलाई फिर्ता ल्याउन सैन्य विमान प्रयोग गरेको थियो । 

यसैबीच थाई प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले तेल अवीभस्थित दूतावासलाई इजरायलमा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने थाई नागरिकहरुलाई आवश्यक परेमा पूर्णरुपमा स्वदेश फर्किन आग्रह गरेका छन् । विश्वभरका सरकारहरुले आफ्ना नागरिकहरुलाई धेरै ढिलो हुनुअघि नै लेबनान छोड्न आग्रह गरेका छन् । नेपाली दूतावासले भने उद्धारका बारेमा केही नबताएपनि सुरक्षितरुपमा बस्न दुबै इजरायल र लेबनानमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise