२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

कतारमा विशेष राहदानी नवीकरण कार्यक्रममार्फत २५० जना श्रमिकले लिए लाभ

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १९ गते १८:०९
कतारमा विशेष राहदानी नवीकरण कार्यक्रममार्फत २५० जना श्रमिकले लिए लाभ

दोहा कतार : पछिल्लो तीन साल, दुई साल र एक सालदेखि म्याद सकिएको पासपोर्ट बोकेर कतारमा नेपाली बसिरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर यो वास्तवमै सत्य रहेको नेपाली राजदूतावास कतारले शुक्रबार सञ्चालन गरेको विशेष राहदानी नवीकरण कार्यक्रममार्फत उजागर भएको छ । आफ्नो पासपोर्टको म्याद सकिएर अप्ठेरोमा परेका र कतारी आइडी नवीकरणमा समस्या परेका श्रमिकका लागि नेपाली राजदूतावास आफैंले पासपोर्टको फाराम भरिदिने क्रममा यस्ता समस्याहरू देखिएका हुन् ।

दूतावासभित्र भेटिएका श्रमिकहरूमध्ये केही श्रमिकहरूसँग बुझ्दा उनीहरूले पासपोर्टको फाराम भर्न विभिन्न टाइपिङ सेन्टरमा पैसा दिएर भर्न लगाए पनि 'स्लट नपाएको र पर्ख' भनेर आफूहरूलाई लामो समय पर्खाइमा राखेको बताए । दूतावासभित्र नवीकरणका लागि उपस्थितहरुमध्ये २५० जनाले राहदानीको शुल्क तिरे पनि साँझ ६ बजेसम्म २२५ जनाले मात्र राहदानी नवीकरणको प्रक्रिया पूरा गर्न सफल भएको नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले जानकारी दिए । उनले बाँकी २५ जनालाई आइतबार, सोमबार र मंगलबारका लागि मिति तोकी फिर्ता पठाइएको बताए ।

पासपोर्ट नवीकरणका लागि श्रमिकहरू बिहान ४ बजे नै दूतावास पुगेका थिए । बिहान १० बजेबाट मध्याह्न ४ बजेसम्म फाराम भर्ने तालिका रहे पनि श्रमिकहरू टाढाबाट समेत आएका कारण साँझ ६ बजेसम्म कर्मचारी खटिएका थिए । बिहान ९ बजे नै दूतावासको परिसर बाहिर करिब ७ सय श्रमिक नवीकरणका लागि पुगेपछि थेग्न निकै हम्मे हम्मे परेपछि स्थानीय सुरक्षाकर्मीको सहयता लिँदै पासपोर्ट र आइडी दुवै सकिएका र त्यसमा पनि सबैभन्दा लामो समयदेखि नवीकरण गर्न असमर्थ श्रमिकको पहिचान गरी नवीकरण प्रक्रियामा लगिएको थियो ।

लामो समयदेखि स्लट नपाएर रुमल्लिएका श्रमिकहरूको अनुहारमा भने छुट्टै खुसी देखिएको थियो । 'हामीलाई नेपाल सरकार कतारमा छ है भन्ने महसुस भयो,' कपिलवस्तुका राम लखन अयीरले मध्यान्हसँग खुसी साटे । उनले आफू जस्तै अन्य नेपालीहरूको पनि पासपोर्टको म्याद सकिएको बताउँदै आफूले दूतावासमा बुझेको कुरा सिकाउने र अरूलाई पैसा दिएर फाराम भर्नबाट रोक्ने बताए ।

श्रमिकलाई आवश्यक पर्ने विभिन्न सहयोगका लागि दूतावास पुगेका विभिन्न व्यक्तिहरूले भने दूतावासको यस कदमको प्रशंसासमेत गरे । एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले दूतावासको नयाँ कदमले बिचौलियाहरूबाट नेपालीको ५ लाखजति रकमसमेत बचत भएको भन्दै खुसी साटे । भट्टको छेउमै रहेका नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलिले भर्खरै भएको परराष्ट्रमन्त्री आरजु देउवा राणाको भ्रमणले पनि यस कार्यका लागि विशेष अर्थ राखेको बताए ।

श्रमिकको सहजीकरणमा बिहानैदेखि एनआरएनएका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षेत्री, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्रवासी भुजेल समाज कतारका अध्यक्ष विकास भुजेल, कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली, जसपा नेपालका केन्द्रीय सदस्य तथा नेपाली समाज कतारका अध्यक्ष मनिष यादव, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख चानक पोखरेललगायतका थुप्रै सामाजिक तथा सामुदायिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले फारम भर्न र लाइनमा बस्न सहजीकरण गरेका थिए ।

कतारबाट राहदानी नवीकरणका लागि अनलाइन स्लट उपलब्ध नहुँदा कतारमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि समस्या झेलिरहेका थिए । श्रमिकका ती समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ कतार शाखा र कतारमा स्थापित अन्य वैचारिक तथा सामाजिक संस्थाहरूको छलफलपछि यो विशेष कार्यक्रमको आयोजना गरिएको थियो । शुक्रबारको कार्यक्रममा सहभागी हुन नपाएका श्रमिकहरूको संख्यासमेत धेरै भएकाले दूतावास दशैंपछि पुनः अझै राम्रो व्यवस्थापनसहित विशेष कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बुझिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise