२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गाउँ छोड्नेहरुको पीडा

ADV
मध्यान्ह
२०८१ असोज २१ गते ०६:२५
गाउँ छोड्नेहरुको पीडा

बाढी पहिरो पीडितले गाउँ छोड्न थालेको दृष्य सामाजिक सञ्जाल र आम सञ्चार माध्यमहरुमा देखिन थालेको छ । विशेषरी राजधानी उपत्यका आसपासका पीडितहरुले गाउँ छोडेर सहर पस्न थालेका छन् । सार्वजनिक भएका विवरण अनुसार बाढी पहिरोका कारणले घरबारविहीन बनेकाहरु नयाँ जीवनको खोजीमा शहर पस्न थालेका हुन् । त्यसरी गाउँ छोड्नेहरु उपत्यका आसपासका जिल्लाहरु छन् । जहाँसुकै जिल्लाबाट गाउँ छोडे पनि यो सुखद् दृष्य होइन । भइरहेको अवसर भन्दा राम्रो खोज्दै कसैले ठाउँ छोड्छ भने त्यो नियमित र मानवीय प्रक्रिया नै हो । त्यसैले कुनै ठाउँ छोडेर नयाँ गन्तव्य तर्फ जाने प्रवृत्तिको अध्ययन गरिएला । अध्ययनको निष्कर्ष मार्फत् बसाइसराइँबारे आवश्यक निर्णय पनि लिइएला । तर अहिले गाउँ छोडिरहेको दृष्यको कारण सरकारको कमजोरी हो । पुस्तौनी बस्दै आएको गाउँमा बस्ने कुनै आधार नदेखेर ती मानिसहरु सहर पसेको सहज अनुमान लगाउन सकिन्छ । 

सरकारले लिएको निर्णय, बाढी पहिरोबाट पुगेको क्षति र समयको तुलना गर्दा पनि सरकारको चरम कमजोरीले मानिसहरु गाउँ बस्न नसक्ने अवस्थामा पुगेको निष्कर्ष निकाल्न सकिन्छ । यी कारणहरुको एक/एक व्याख्या मार्फत् पनि यो निष्कर्षलाई प्रमाणित पनि गर्न सकिन्छ । सरकारले लिएको निर्णय पीडितमैत्री हुन सकेन । यदि त्यस्तो हुन्थ्यो भने अहिलेसम्म पीडितले सरकारी राहत समेत पाउन नसकेको परिस्थिति बन्ने थिएन । तर बाढी पहिरो जाँदा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश नफर्की कुनै निर्णय समेत भएन । प्रधानमन्त्रीलाई चार दिन कुर्दा बाँकी प्रक्रिया विलम्ब हुँदै गयो । सरकारले बाढी पहिरो गएको एक सातापछि शुक्रबार बल्ल संकटग्रस्त पालिकाहरुको पहिचान र घोषणा गरेको छ । जबकी यसपटकको बाढी पहिरोबाट यसअघिका कुनैपनि प्रकोपबाट भन्दा बढी संकट आइलागेको छ । जति ठाउँमा क्षति पुगेको छ, त्यहाँका मानिसले लगभग सर्वश्व गुमाएका छन् । 

तर नागरिकले खेपिरहेको संकटलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिदैन । बाढी पहिरो गएको यतिका दिन बितिसक्दा पनि सामान्य राहत समेत नपाएपछि सरकारप्रति विश्वास गुम्नु स्वभाविक हो । सरकारले केही गर्दैन भन्ने बुझाइ निर्माण भएपछि पीडितहरुले आफ्नै पहलकदमी लिन्छन् । बाँच्न सक्ने ठाउँतिर हिड्छन् । किनकि बाढी पहिरोका कारण कतिपयले आफन्त गुमाएका छन् । ज्यान जोगाएकाले घरबारी गुमाएका छन् । सडक, विजुली, खानेपानी र टेलिफोन अवरुद्ध भएको छ । पशुचौपाया मरेका छन् । अर्थात् यसअघिका कुनैपनि प्रकोप भन्दा ठूलो असर पीडितहरुले खेपिरहेका छन् । त्यसैले उनीहरु पीडाबाट भाग्न पुस्तौनी बस्दै आएको भूमि छोड्ने निष्कर्षमा पुगिरहेका छन् । यो दृष्य हेरेर बसिरहनु सरकारका निम्ति प्रतित्यूपादक बन्न सक्छ । किनकि सरकार रहने भनेकै जनताको विश्वासले हो । विश्वास गुम्यो र नागरिक आफै सडकमा निस्के भने आउने संकट समाधान सजिलो हुदैन । 

ADVADV

सम्बन्धित खबर

Advertise