२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

न्यायपालिकाको गरिमा बढाउने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

ADV
मध्यान्ह
२०८१ असोज २१ गते ०६:४०
न्यायपालिकाको गरिमा बढाउने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता

काठमाडौं : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । संघीय संसदको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई नवनियुक्त प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

३१ भदौमा संवैधानिक परिषदको बैठकबाट प्रधानन्यायाधीशमा सिफारिस भएका राउतलाई यही असोज १६ गते संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदित भएका राउतलाई आइतबार राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाएका हुन् । 

निवर्तमान प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ यही असोज १८ गते अवकासमा गएका थिए । त्यसपछि राउत प्रधानन्यायाधीश भएका हुन् । अब प्रधानन्यायाधीशको रुपमा राउतको कार्यकाल साढे एक वर्ष रहनेछ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले न्यायपालिकाको गरिमा बढाउने प्रतिवद्धता जनाएका छन् ।

आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले अबको न्यायपालिका गरिमामय हुने बताए । न्यायालय लयमा फर्किएको उल्लेख गर्दै अब न्यायालयले फड्को मार्ने बताए ।

‘अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ’ उनले भनेका छन् । 

निष्ठाले ओतप्रोत न्यायाधीशहरूको टिमले आफ्ना कामद्वारा प्रश्नहरूको जवाफ दिने पनि उनको विश्वास छ । उनले न्यायपालिका लयमा फर्कन सर्वोच्चमा रहेका न्यायाधीश र कर्मचारीहरूको संयुक्त प्रयासले सम्भव भएको बताए । आफूसँग सक्षम न्यायाधीश र कर्मचारीको टिम रहेको उनले बताएका हुन् । 

पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै न्यायालयको सुधार हुनेमा जोड दिँदै नवनियुक्त प्रधानन्यायाधीश राउतले न्यायपालिकाको गरिमा बढाउने प्रतिवद्धता दोहोर्‍याएका छन् । 

राउत न्यायालयको सुधारका निम्ति विकृति, विसंगतिको अध्ययन गर्न गठित पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको समितिका सदस्य समेत थिए । उक्त प्रतिवेदनले औँल्याएका कमी–कमजोरी पनि सच्याउँदै यसप्रति नागरिक आस्था पर्काउने पनि उनको प्रतिवद्धता छ ।

प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको उल्लेख गर्दै उनले नेपालको न्यायालयलाई लयमा फर्काएको र यसलाई समृद्ध बनाउनका लागि आफूहरू लागि परिरहेको बताए । 

उनले भनेका छन्, ‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौँ ।’

पत्रकार सम्मेलनमा राउतले बिभिन्न पाँच बुँदे लक्ष्य समेत सुनाएका छन् । 

‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेको छु । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन्’ नवनियुक्त प्रधानन्यायाधीश राउतले भनेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise