२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

रौतहटलाई संकटग्रस्त घोषणा गर्न माग

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २२ गते २१:५८
Shares
रौतहटलाई संकटग्रस्त घोषणा गर्न माग

रौतहट : नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले विभिन्न माग राख्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

ncell

असोज १२ गते आएका भीषण बाढीले  जिल्लामा व्यापक रुपमा भौतिक तथा बालीनालीमा क्षति पुर्‍याउँदा पनि नेपाल सरकारले जिल्लालाई अति बाढी प्रभावित जिल्ला घोषणा नगरेकोप्रति गुनासो पोख्दै संकटग्रस्त जिल्ला घोषणा गर्नुपर्ने दबाब सृजना गर्ने उद्देश्यले नेकपा एमालेले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

नेपाल सरकारले १४ जिल्लालाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गर्दा मधेश प्रदेशको रौतहट जिल्लालाई समावेश नगर्दा सरकारको रबैयाप्रति जिल्लाका राजनीतिक दलले आक्रोशित भइ रौतहटलाई पनि संकट ग्रस्त जिल्ला घोषणा गरी बाढी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । 

नेकपा एमाले रौतहटका जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा गएका पार्टीका नेता कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा रौतहट जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्नु पर्ने, रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सलाई अबिलम्ब सञ्चालन गराउनुपर्ने, बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना कार्यालय रौतहटको गौरमा स्थापना गर्नुपर्ने लगायतको माग उल्लेख गरिएको जिल्ला इन्चार्ज गुप्ताले बताए । 

उनले विपद्को बेला पनि रौतहटसँग गरिएको विभेदको अन्त्य गरी जिल्लालाई सरकारले अभिलम्ब अति बाढी प्रभावित जिल्ला घोषणा गर्नुपर्ने बताए । असोज २० गते कटहरिया सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकबाट भएको निर्णय अनुसार ज्ञापन पत्र बुझाइएको हो ।  

ज्ञापन पत्र बुझाउने क्रममा जिल्ला अध्यक्ष सचितानन्द साह, पूर्व सांसद रेखा झा, प्रदेश सभा सदस्य राजकिशोर यादव, एमाले नगर अध्यक्ष भैरब पटेल, पूर्व वडाध्यक्ष श्याम सुन्दर पटेल, युवा संघका ओम प्रकाश साहसहितका दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको एमाले पार्टी कार्यालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर