काठमाडौँ : लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ ।
समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् ।
यसवर्षदेखि फिल्म मार्केट पनि शुरु गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ ।
तस्वीर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन् । उनले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्वपूर्ण अवसर हुने बताएकी छन् ।
फिल्म 'गुन्युचोलो' मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
यो भूमिका नेपाली सिनेमा जगतमा एक साहसी प्रयासको रुपमा हेरिएको छ । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो । यसअघि उनले 'आधा पेज' निर्देशन गरेकी थिइन् ।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । २०२४ कै बहुप्रतीक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर- २’ मा लिजाले स्वर दिएकी छिन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो फिल्मलाई फेस्टिभल सर्किटपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन् ।