२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली सरकार : फोक्सुण्डो तालको संरक्षण तथा प्रवर्द्धनका लागि छैन कुनै योजना

ADV
पुर्ण कुमार
२०८१ असार २ गते १४:२८
कर्णाली सरकार : फोक्सुण्डो तालको संरक्षण तथा प्रवर्द्धनका लागि छैन कुनै योजना

डोल्पा : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत रहको छ ।

अर्थमन्त्री महेन्द्र केसीले शनिबार प्रदेश सभाको दशौं बैठकमा बजेट प्रस्तुत गरेका थिए । उनले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को नारालाई सार्थक तुल्याउने उद्देश्यसहित बजेट ल्याइएको बताए । उनले ७ उद्देश्य, ७ प्राथमिकता र ७ रणनीतिक क्षेत्र निर्धारण गरी बजेट ल्याइएको बताए । साथै प्रदेशको गरिबी निवारण न्यूनीकरणमासमेत ध्यान दिइएको पनि उनले बताए ।

बजेट भाषणमा कर्णाली प्रदेशका अन्य जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको गुरु योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएपनि डोल्पाको फोक्सुण्डो तालको संरक्षण तथा प्रवर्द्धन गर्न कुनै योजना भने देखिएको छैन । 

कर्णालीका अन्य पर्यटकीय स्थल मुगुको रारा ताल, सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार, चौधान ताल र रुकुम पश्चिमको स्यार्पु ताल बजेटमा समेटिँदा डोल्पाको फोक्सुण्डो ताल भने समेटिएन । यसरी मुख्य पर्यटकीय क्षेत्रलाई संरक्षण तथा प्रवर्द्धनका लागि कुनै योजना नराख्दा फोक्सुण्डो ताल ओझेलमा पर्ने देखिएको छ ।

फोक्सुण्डो ताल नेपालकै गहिरो तालमध्येको एक ताल हो । जहाँ वर्षेनी हजारौंको संख्यामा पर्यटक भित्रिन्छन् । प्रदेश सरकारको बजेटमा फोक्सुण्डो ताल नसमेटिनु अहिले डोल्पावासीका लागि चिन्ताको विषय बनेको छ । डोल्पामा फोक्सुण्डो मात्रै नभइ अन्य ठूला ठूला तालहरु समेत रहेका छन् । 

डोल्पाको फोक्सुण्डो तालसहित जगदुल्ला ताल, सुनदह ताल, कुख्यन फालकसहित अन्य थुप्रै तालहरु छन् । जुन ताल कर्णाली प्रदेश सरकारको नजरमा नपर्दा अहिले पनि ओझेलमा परिरहेका छन् । 

त्यति मात्रै नभइ अहिले डोल्पामा विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तालसमेत भेटिएको छ । यसको प्रमाणीकरणका लागि समेत प्रदेश सरकारसँग कुनै योजना देखिएको छैन । डोल्पामा दर्जनौं पर्यटकीय क्षेत्रहरु रहेका छन्, जुन अहिले प्रचार प्रसारको अभावमा कसैको नजर पर्न सकेको छैन ।

डोल्पाबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा दुई जना मन्त्री छन् । सरकारमा दुई जना मन्त्री हुँदासमेत डोल्पाका पर्यटकीय क्षेत्र नसमेटिनु निकै चिन्ताको विषय रहेको शे-फोक्सुण्डो गाउँपालिका वडा नं ८ का अध्यक्ष निमा लामाले बताए । प्रदेश सरकारको बजेटमा फोक्सुण्डो तालसहित डोल्पाका मुख्य पर्यटकीय क्षेत्र नराखेको भन्दै कर्णाली प्रदेश सरकारको डोल्पामा तीव्र आलोचनासमेत भइरहेको छ। 

कर्णाली प्रदेश सरकारले बजेट अघि ल्याएकाे आ.व. २०८१/८२ काे नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन तथा विकास गुरुयाेजनामा डाेल्पाको फाेक्सुण्डाे ताललाई समावेश नगरेको भन्दै पत्रकार महासंघ डोल्पा शाखाका सचिव लेख बुढालेसमेत दुखेसो पोखेकाथिए ।

कर्णाली प्रदेश सरकारले प्रदेशमा आम्दानी बढाउने हो भने डोल्पाको फोक्सुण्डो ताललगायतका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको जानकारहरु बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise