२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिन्छ : कृषिमन्त्री अधिकारी

Nada
२०८१ कार्तिक ७ गते १४:०७
Shares
दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिन्छ : कृषिमन्त्री अधिकारी

चितवन : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

ncell

नेपाल मत्स्य समाजद्वारा आज आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवम् गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको प्रवर्द्धन गर्न सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए । 

सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुंगाको रुपमा भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएको जनाउँदै उनले यस्ता स्रोतमा निर्भर रहेर धेरै समुदायको जीविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामासमेत महत्वपूर्ण भूमिका खेलेको बताए । 

नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उनले भने, “गुणस्तरीय उत्पादन सामग्रीको आपूर्ति, पूर्वाधार विकासमा उच्चलागत,  यान्त्रिकरण, डिजिटलाइजेशनको कमी, बजार पहुँच रहेका छन् ।” नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको मन्त्री अधिकारीको भनाइ थियो । 

उनले भने, “जलस्रोत तथा जलिय जैविक विविधता संरक्षणमासमेत विभिन्न चुनौती रहेका छन् ।” मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । 

हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवद्र्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उनले बताए । कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्रमध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो । 

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कार्यबाहाक उपकुलपति प्राध्यापक डा शारदा थपलिया, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र, नार्कका कार्यकारी निर्देशक डा दोजराज खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदी, एफएओ नेपाल तथा भुटानका प्रतिनिधि केन सीमि, नेटवर्क अफ एक्वाकल्चर एसियाप्यासेफिकका डा एडवार्डो लिएनो, नेपाल मत्स्यसमाजका अध्यक्ष प्राडा सुनिला राईलगायतले माछा उत्पादन, प्रविधि, बजारीकरण लगायतको महत्वका बारेमा बोलेका थिए ।

सम्मेलनमा विभिन्न १० देशका दुई सय वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहेका छन् । सम्मेलनमा भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापान, संयुक्त राज्य अमेरिका, फिलिपिन्स, मलेसिया र नेपालका प्रतिनिधि सहभागी भएको समाजका अध्यक्ष राईले जानकारी दिए । सम्मेलनमा ४० विदेशी, १०३ नेपाली गरी कुल एक सय ४३ वैज्ञानिक कार्यक्रम पेस गरिँदै छ । 

ताजा खबर

सम्बन्धित खबर