काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापार घटेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले घटेको हो ।
तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात हुदाँ तीन महिनमा ३८ अर्ब ३७ करोड रूपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ । तर गत वर्षको सोही अवधीमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको थियो । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात समेत ६.११ प्रतिशतले घटेको विभागको तथ्यांक छ ।
बिषेशगरी चाडपर्वको सिजनमा आयात बढ्नु पर्ने भएपनि आर्थिक मन्दीको असर अझै बाँकी रहेको देखिन्छ । चार्डपर्वमा समेत व्यापार बढ्न नसक्दा आयात घटेको देखिन्छ । आयात निर्यात दुवै खस्किदा बजार समेत चलायमान हुन नसकेको देखिन्छ । नेपालमा सबैभन्दा धेरै डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रूपैयाँ बराबरको, पेट्रोल १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रूपैयाँ बराबरको र खाना पकाउने एलपी ग्यास १४ अर्ब ६ करोड ४४ लाख ५३ हजार रूपैयाँ बराबरको आयात भएको छ ।
नेपालमा ३ महिनाको अवधिमा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको छ भने ७ अर्ब ९३ करोड १३ लाख ६६ हजार रूपैयाँ बराबरको युरिया मल भित्रिएको विभागको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा सबैभन्दा धेरै सामग्री भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड बराबरको आयात भएको छ भने चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख ६५ हजार रूपैयाँ बराबरको आयात भएको छ । यस्तै युक्रेनबाट समेत ६ अर्ब ५१ करोड ५८ लाख १६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । यस्तै धेरै सामग्री आयात गर्ने मुलुकहरूमा क्रमश अष्ट्रेलिया, अर्जेन्टिना अमेरिका रहेको भन्सार विभागको तथ्याङ छ ।