कात्तिक सकियो । कात्तिकको अन्त्य सँगै दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता चाडले पनि अर्को वर्षसम्मलाई विदाई लिएको छ । भित्ते पात्रोले अझै केही चाडहरुको दिनगन्ती गरिरहेकै छ । जस्तो– ल्होसार, उभौली, क्रिसमस इत्यादी । भित्तेपात्रोको काउण्ट डाउनसँगै त्यसको तयारीमा नेपाली बजार र नेपालीहरु बिस्तारै जुट्न थाल्नेछन् ।
आगामी दिनहरुका लागि सरकारले समेत केही कार्यक्रम तय गरिसकेको छ भने केही पूर्व निर्धारित छन् । जसको तयारी भइरहेकै छ । मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन दलहरु घुँडा टेकेर लागेकै छन् । दक्षिण एसियाली खेलकुद (साग)को तयारी भइरहेकै छ । हिउँदे अधिवेशनका लागि राष्ट्रपति कार्यालयले पत्र पठाउने दिनको तर्जुमा भइरहेकै छ । सिंहदरबारमा संसदीय समितिका बैठकले आफ्नो तालिकाअनुसार, गतिविधि गरिरहेकै छन् ।
यसै बेला राष्ट्रिय राजनीतिमा वर्तमान सरकारले भावी योजना भित्ते पात्रो कोरेर तय गरिरहेकै छ । जस्तो– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय हेरफेर, मन्त्रिपरिषद् पुनर्गठन इत्यादी । यसै बेला भारतीय पक्षले नेपालीको भूमि मिचेर राजनीतिक नक्सा सार्वजनिक गरेकाले सम्पूर्ण राज्य संयन्त्रको ध्यान त्यसतर्फ तानिएको छ । लगभग दलहरु बीच राष्ट्रिय सहमति कायम भएको छ ।
यसबाहेक विभिन्न सामाजिक संस्थाहरुको छलफल, बैठक, भेला र नेतृत्व चयनजस्ता लोकतान्त्रिक समाजका नियमित कामहरु आफ्नो तालिकाअनुसार चलिरहेकै छन् । यी सबै गतिविधि पूर्व निर्धारित र तय गरेरै भएका छन् । तर, हामीले तय नगरे पनि प्राकृतिक सन्तुलन कायम गर्न समयले आफ्नो नियमित चक्र तय गर्ने नै छ । चैत–वैशाखले सुख्खा र हावाहुरी, असार–साउनले अविरल वर्षा र बाढी पहिरो अनि मंसिर–पुसले शितलहर सहित कठ्याङ्ग्रिदो चिसो लिएर आउने गर्छ ।
तर, यस तर्फ भने सामान्यतया हाम्रो जस्तो कम विकसित मुलुकको राज्य संयन्त्रले बेलैमा ध्यान दिएको पाइदैन । यदि, त्यस्तो हुन्थ्यो भने वर्षेनि जाडोकै कारण कोही कसैले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । बाढी पहिरोमा डुबेर जनधनको क्षति हुँदैनथ्यो । अर्थात्, प्रष्ट छ– हामी भित्तेपात्रोको ‘हिडेन’ चक्रलाई वेवास्ता गर्छौ । कम्तिमा, सरकारले भुल्न हुन्न । बरु, जनताले पूर्व तयारी भुले भने सम्झाउनु पर्छ । त्यो राज्यको दायित्व हो । सँगै, बिपतमा साथ दिएको सेल्फी लिने सामाजिक संघसंस्थाले समेत यसतर्फ ध्यान दिन आवश्यक पर्छ ।
यस पटक माथि उल्लेखित पूर्व निर्धारित राजनीतिक–सामाजिक–कुटनैतिक र सांस्कृतिक तालिका सँगै चिसोबाट बच्न र बचाउने तयारीमा सरकार सहित सरोकारवाला निकायको ध्यान बेलैमा पुगोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies