२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

एक वर्षमा हराए साढे १५ हजार, भेटिए ९ हजार

ADV
अस्मिता बम
२०८१ कार्तिक ८ गते ०६:५५
एक वर्षमा हराए साढे १५ हजार, भेटिए ९ हजार

काठमाडौं : हरेक दिन औसतमा ४२ जना मानिस हराउने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालय अनुसार दैनिक औसतमा ४२ जना हराउने गरेको पाइएको हो । आर्थिक वर्ष २०८०/८१ को एक वर्षको अवधिमा १५ हजार छ सय ८३ जना हराएका थिए । विशेगरी गरिबीका कारण घर छोडेर हिड्ने, अवसरको खोजीमा निस्किने र प्राकृतिक विपत्तिले घरको अवस्था विग्रिनाले खबर नगरी व्यक्त्ति वेपत्ता हुने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीका अनुसार हराएका मानिसहरुमध्ये सबैभन्दा बढी महिला रहेका छन् । एक अर्थिक वर्षमा देशभरिबाट पाँच हजार आठ सय ६४ जना महिला मात्रै हराएका छन् । पारिवारिक समस्याका कारण हराउनेमा महिलाको संख्या बढी रहेको सूचना अधिकारी कार्की बताउँछन् । 

उनी भन्छन्, ‘हिंसामा परेका कारणले, दुव्र्यवहारमा पर्नाले, कहिलेकाहीँ दाइजोका कारणले र मन नपरी विवाह गरिदिनाले घर छोडेर हिड्ने प्रवृति देखिन्छ ।’महिलापश्चात् बालिकाहरु अधिक हराउनेमा पर्छन । एक आर्थिक वर्षमा चार हजार छ सय ५३ जना बालिका हराएको प्रहरीको तथ्यांक छ । पुरुष तीन हजार एक सय ४५ जना, बालक एक हजार छ सय ५६ जना, वृद्ध एक सय ७६ जना र वृद्धा ५९ जना हराएका छन् । 

बालबालिका हराउनुको कारण फकाउनु रहेको कार्की बताउँछन् । पुरुषहरुले भने आर्थिक अवस्था कमजोर हुँदा घर छोड्ने गरेको उनको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर हुँदा पनि महंगा–महंगा फोन चाहियो भन्ने, बाइक चाहियो भन्ने र नदिए घर छोड्दिन्छन् केटाहरु’, उनले भने । साथै अध्ययन र कामको असफलताका कारण र प्रेमका कारण पनि पुरुष हराउने गरेको उनले बताए । ‘प्रेमिकाले जाउँ भनिन्, घर छोडेर भाग्ने । लहैलहैमा लागेर पनि र मानसिक स्थिति ठिक नहुँदा पनि घर छोड्छन् ’ । उनले भने । 

वृद्धावृद्धहरु भने रोगका कारण, पारिवारिक हेरचाह नपाएका कारण, सम्पत्तिको स्वामित्व गुमाउँदा र परिवारबाट हेला हुँदा हराउने गरेका छन् । 

तर भेटिने संख्या भने नौ हजार मात्रै छ । आर्थिक वर्ष २०८०/८१ मा हराएका १५ हजार छ सय ८३ जनामध्ये नौ हजार चार सय ९६ जना मात्रै भेटिएकोे प्रहरीको तथ्याङ्क छ । 

तथ्याङ्कअनुसार तीन हजार नौ सय २५ जना महिला, दुई हजार पाँच सय १९ बालिका, पुरुष एक हजार आठ सय २६ जना, बालक एक हजार ६९ जना, वृद्ध एक १२ जना र ४५ जना वृद्धा भेटिएका हुन् । 

तीन महिनामा हराए चार हजार

चालु आर्थिक वर्षको तीन महिनामा हराउनेको संख्या चार हजार नाघेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि असोज मसान्तसम्म कुल चार हजार दुई सय ७२ जना मानिस हराएका छन् । यो तीन महिना अवधिलाई हेर्ने हो भने हरेक दिन औसतमा ४७ जना मानिस हराउने गरेका छन् । चालु आर्थिक वर्षमा समेत महिला नै अधिक हराएका छन् । तीन महिनाको अवधिमा एक हजार पाँच सय ५१ जना महिला हराएका छन्  ।

यसैगरी, बालिका एक हजार तीन ४३ जना, पुरुष सात ६४ जना, बालक पाँच सय २० जना, वृद्ध ५७ जना र वृद्धा ३७ जना हराएको प्रहरीले जनाएको छ ।  यो तीन महिनामा हराएकाहरूमध्ये भेटिने संख्या आधा छ । असोजसम्ममा हराएका कुल चार हजार दुई सय ७२ जना मध्येबाट आधा संख्या मात्र फेला परेको तथ्याङ्क छ । यस अवधिमा दुई हजार सात सय २३ जना भेटिएका छन् । जसमा महिला एक हजार ५४ जना, बालिका सात सय ८२ जना, पुरुष चार सय ८९ जना, बालक तीन सय ३७, वृद्ध ४३ र वृद्धा १८ जना रहेका छन् । हराएकाहरुको खोजीकार्यमा प्रहरी प्रशासन सक्रिय रुपमा लागिरहेको प्रवक्ता कार्की बताउँछन् । 

उनी भन्छन्, ‘हरायो भन्ने सूचना पाउनासाथ हुलियासहितको व्यक्तिको फोटो दिएर प्रहरीले सबैतिर सर्कुलर जारी हुन्छ । भेटिनासाथ नजिकको प्रहरी कार्यालयमा ल्याउन वा नजिकको व्यक्तिलाई भन्न अनुरोध गरिएको हुन्छ । साथै कोही प्रहरीको कारबाहीका क्रममा फेला पर्छन्, कोही अलपत्र परेका खोजतलास गर्दा भेटिन्छन् । त्यसपछि उनीहरु परिवारसँग कनेक्ट हुन्छन् ।’

प्रवक्ता कार्की थप्छन्, ‘स्वदेश तथा विदेशमा भएकाहरुको सरकारी तथा गैर–सरकारी संस्थाहरुसँगै सम्पर्क हुन्छ । सम्पर्क हुँदा कुराहरु सेयर हुन्छन् र यो मान्छे यता छ भन्ने थाहा भइसकेपछि खबर हुन्छ र भेटिन्छन् ।’ 

साथै कोही व्यक्ति भने बाल आश्रम, वृद्धाश्रम, मानव आश्रम जस्ता संस्थाहरुमा भेटिने गरेको उनले बताए । हराएर फेला नपर्नेहरुको तथ्याङ्कमा अधिकांश प्रेमका कारण भागेकाहरु रहेकोे प्रवक्ता कार्कीको भनाइ छ । ‘सानै उमेरमा प्रेममा परी भाग्छन् । समाजमा लाज हुन्छ, इज्जत जान्छ भन्ने डरले उजुरी भने हराएको आउँछ’, उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise