काठमाडौं : कुनै पनि मन्त्रीका लागि एक सय दिन काम गर्न र परिणाम निकाल्न प्रयाप्त समय होइन । तर दिनको संकेत बिहानले गर्छ भने झैँ एक सय दिनमा विश्वास जित्न र अगाडि बढ्नका लागि वातावरण बनाउने प्रयाप्त समय हो । यसकारण यसलाई हनिमुन पिरियडको रुपमा समेत लिने गरिन्छ ।
वर्तमान सरकारले पनि एक सय दिन पार गर्दै गर्दा समग्रतामा आलोचना खेप्यो । तर, त्यही सरकारको मन्त्रिपरिषद्का एक सदस्य स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने सफलताउन्मुख मन्त्रीको उपमा पाउने गरी काम गरेका सरोकारवालाहरू बताउँछन् । एक सय दिनमा पनि काम देखाउन सकिन्छ भनेर उनले केही उदाहरण प्रस्तुत गरेका छन् ।
स्वास्थ्यमन्त्री पौडेलले बिहीबार आफ्नो कार्यकालका एक सय दिने उपलब्धि सार्वजनिक गरे । १५ बुँदामा प्रस्तुत गरिएको कार्यप्रगतिमा अधिकांश नीतिगत र केही भौतिक परिवर्तनका बुँदा समेटिएको छ ।
तत्कालीन सेवा सुधारमा बढी ध्यान दिँदै पहिलोपटक विषयगत समितिको बैठक बसेर कर्मचारी समायोजनमा रहेको अलमल समाधान गरिएको पहिलो बुँदामा उलेख छ ।
फाजिलका कर्मचारी व्यवस्थापन, स्थानीय तहमा रहेका विशेषज्ञ चिकित्सकलाई प्रादेशिक अस्पतालमा काजमा खटाइएको छ । हैजा, डेंगुलगायत महामारीजन्य रोग नियन्त्रणका निम्ति तीनवटै तहमा प्रतिकार्य टोली सक्रिय बनाइएको छ । खण्डिकृत सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सहकार्य र समन्वय गरिएको छ ।
जनस्वास्थ्य समितिको क्रियाशिलताअन्तरगत राष्ट्रिय जनस्वास्थ्य समितिको दोस्रो बैठक बसेर जनस्वास्थ्यका प्राथमिकता निर्धारण गर्न आठ वटा उपसमिति गठन गरिएको छ ।
स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोग गर्ने प्रयासअन्तरगत नेपाल हेल्थ कन्क्लेभ २०२४ आयोजनाको तयारी गरिएको छ ।
निरोगी पुस्ता अभियानअन्तरगत नवजात शिशुको मुटुको न्युबर्न स्क्रिनिङ सेवा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरु गरिएको छ ।
यही वर्षदेखि स्क्रिनिङ सञ्चालनमा १० देखि १४ वर्षका सबै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने कार्ययोजना तयार पारिएको छ ।
उपचारात्मक सेवाअन्तरगत भक्तपुर र भरतपुर क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।
हरेक प्रदेशमा एउटा मुटुरोग अस्पताल रहनेगरी मधेस र गण्डकी प्रदेशबाट सेवा सुरु गरिएको, सबै संघीय अस्पतालमा दुई सिफुट ओपीडी सुरु गरिएको छ ।
चिकित्सा शिक्षातर्फ राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५०-५० सिटमा एमबीबीएस अध्यापन सुरु गरिएको उनले बताए ।
जलनको निःशुल्क उपचार गर्न सातै प्रदेशबाट कस्मेटिक बाहेकका जलनको उपचार सेवा सुरु भएको छ ।
गत असोज ११ र १२ गतेको बाढी पहिरोमा परी घाइते भएका तथा मृतकका परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवथा गरिएको मन्त्री पौडेलले बताए ।
देशभरका ५२ हजार सामुदायिक स्वास्थ्य स्वंयसेविका लाभान्वित हुनेगरी सम्बन्धित जिल्लाभित्र सार्वजनिक सवारीमा भाडा नलाग्ने व्यवस्था गरिएको छ । यो नियम कात्तिक १५ गतेदखि लागू हुनेछ ।
राष्ट्रिय खेलाडीको सम्मानस्वरुप अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिएको पनि उनले बताए ।
स्वास्थ्य बिमा पुनसंरचनाका लागि उच्चस्तरीय कार्यदल गठन भइ काम अघि बढाइएको मन्त्री पौडेलले जानकारी दिए ।
औषधि ऐन प्रतिस्थापन विद्येयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐन, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन शंसोधन प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।
संघीय अस्पतालहरूको बिग्रिएका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिइएको र हालसम्म चार सयभन्दा बढी सामग्रीको मर्मत भइसकेको मन्त्री पौडेलले बताए ।
सिंहदरबार बैद्यखानाबाट ४० किसिमका औषधि उत्पादन तयारी अघि बढाइएको उपलब्धी विवरणमा उल्लेख छ । औषधिको मूल्य नीति सुझाव समिति गठन गरी स्वतःस्फूर्त मूल्य कायम गर्नेगरी काम अघि बढाइएको पनि उनले जानकारी दिए ।
विकास साझेदारहरूबाट आर्थिक सहयोग भित्र्याउने सन्दर्भमा सामर्थ्य परियोजनाअन्तरगत बेलायत सरकारबाट २०२४ देखि २०३० सम्म १२ मिलियन पाउण्ड सहयोग पाउनेगरी हस्ताक्षर भएको विवरणमा उल्लेख छ ।
२०२४ देखि २०२९ सम्म अमेरिकी सरकारबाट एकीकृत पोषण कार्यक्रमका निम्ति ७२ मिलियन अमेरिकी डलर दिने सम्झौता भई कार्यक्रम सुरु भएको पनि मन्त्री पौडेलले बताए ।
स्वास्थ्य क्षेत्रमा एक सय दिनको अवधिमा भएका कामहरूले केही सुधारका संकेत दिएको र आगामी दिनमा नागरिकले महसुस गर्नेगरी सुधारका काम अघि बढाउने मन्त्री पोडेलले प्रतिवद्धता जनाएका छन् ।