काठमाडौं : पार्टीको नाम राख्दा राजनीतिक दलले ख्याल गर्नुपर्ने भएको छ । राजनीतिक दलले पार्टीको नाममा ‘क्रान्ति’ शब्द राख्न नपाउने भएका हुन् ।
क्रान्ति शब्द भएकै कारण राजेन्द्र महतो नेतृत्वको पार्टीले नाम फेर्नुपरेको छ ।
निर्वाचन आयोगले क्रान्ति शब्द राखेर दल दर्ता निवेदन दिएको थियो । तर, यही नाम दिन निर्वाचन आयोगले अस्वीकार गरिदिएपछि महतोले नयाँ नाम राखेका हुन् । नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको छ ।
गत वर्ष असोज १ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका थिए । त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए । त्यसअनुसार आयोगमा निवेदन समेत दिएका थिए । तर आयोगले क्रान्ति शब्द राख्न अस्वीकार गरेपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम राखिएको नेताहरू बताउँछन् ।
राष्ट्रिय मुक्ति पार्टी मार्फत् एकल राष्ट्रिय राज्य नेपाललाई बहुल राष्ट्रिय राज्यमा रुपान्तरण गर्ने लक्ष्य राखेका छन् । स्वदेशवाद, बहुलराष्ट्रवाद, सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त मार्फत् नेपाललाई बहुल राष्ट्रिय राज्यको रुपमा रुपान्तरणको निमित्त राष्ट्रिय मुक्ति क्रान्तिले अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोहको तयारी गर्ने महतोको उद्घोष छ ।
जनता समाजवादी पार्टी गठन हुँदा नै राजेन्द्र महतोले राष्ट्रिय क्रान्ति मुक्ति अभियान चलाउन उक्त पार्टीमा प्रस्ताव गरेका थिए । तर उपेन्द्र यादवले त्यसलाई अस्विकार गरिदिए ।
पछि जसपा विभाजन भएर लोसपा बन्यो । लोसपामा पनि आफू शक्तिमा जाने र यो अभियान चलाउने उनको प्रयास भयो । असफल भएपछि उनी एक्लै अभियानको तयारीमा जुटे । लोसपाबाट अलग भएर राष्ट्रिय क्रान्ति अभियानलाई दुई चरणमा चलाए । मंगलबार पार्टी नै घोषण गरे ।
फागुन १४ गते अभियानको घोषणा गरेको दुई दिनपछि काठमाडौँमा उनले प्रदर्शन गरेका थिए । त्यसपछि उनले लगातार प्रदर्शन तथा कार्यक्रमहरू गर्दै आइरहेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीमा मा यसअघि एक जना मात्र संयोजक थिए अरू सबै साधारण सदस्य थिए । पार्टी घोषणा गर्नु अगाडि पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिम कमाण्ड भनेर जिम्मेवारी दिइएको थियो ।
पूर्वी कमाण्ड अन्तर्गत कोशी प्रदेशका सबै जिल्ला रहेका छन् । त्यहाँ लिम्बुवान ब्युरो, किराँत ब्युरो गठन गरिएको थियो । मध्य कमाण्ड अन्तर्गत मधेस प्रदेश र बागमती प्रदेश रहेका छन् । यसमा मधेस ब्युरो, नेवाः ब्युरो र तामसालिङ ब्युरो गठन गरिएको थियो । पश्चिम कमाण्ड अन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश रहेका छन् । त्यसमा थरुहट ब्युरो, मगरात ब्यूरो, तमुवान ब्युरो गठन गरिएको थियो ।
राष्ट्रिय मुक्ति पार्टी अन्तर्गत विभिन्न परिषद्हरू पनि गठन गरिएको थियो । परिषद्ले स्वशासन तथा सत्ताको अभ्यास गर्दै आएको थियो । अब त्यसलाई पार्टीको संरचनाभित्र समेटिनेछ ।