काठमाडौं : सरकारले एक सय दिन पार गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सडकबाट खबरदारी गर्न थालेको छ । शनिवार काठमाडौंमा खबरदार सभा नै आयोजना गरेर माओवादीले भ्रष्टाचार र सुशासनप्रति सरकारको प्रतिवद्धतामा प्रश्न उठायो । नेताहरूले प्रमुख दुई दल मिलेर बनेको सरकार लोकतन्त्रकै लागि खतरा हुन सक्ने बताए ।
तर, सरकारलाई काम गर्न नदिन खोजेको भनेर सत्तापक्ष प्रतिपक्षीको प्रदर्शनको विरोधमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेपाली कांग्रेस र नेकपा एमालेबाट लोकतन्त्र विरोधी कुनै गतिविधि नहुने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डबाट माओवादी केन्द्रका नेताहरूले सरकारमाथि प्रश्न गरिरहेका थिए । राजधानीमै वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लोकतन्त्रलाई मर्न नदिने प्रतिवद्धता जनाइरहेका थिए ।
कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालको राजनीतिक, सामाजिक इतिहासमा, परिवर्तनका कुराहरुमा नेकपा एमाले र नेपाली कांग्रेस सदैव अग्रणी रहेका हुन् । यी दुइटा पार्टीले असाधारण योगदान गरेका छन् । यिनको प्रतिवद्धता छ– डेमोक्रेसी मर्न दिँदैनन् ।’
खबरदारी सभाबाट भने माओवादी नेताहरूले सरकारमाथि प्रश्न गरिरहेका थिए ।
प्रकृतिक विपद्को बेला सरकारले उपस्थिति जनताले अनुभत गर्न नसकेको आरोप लगाए । नेकपा एमालेले पार्टी कार्यालय बनाउन मिनबहादुर गुरुङसँग १० रोपनी १४ आना जग्गा र भवन समेत लिन लागेको विषयलाई जोडेर प्रश्न उठाए । उपसभामुख इन्दिरा राना र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेको भनेर खबरदारी गरे । राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर विपक्षी दलहरू फुटाउन लागेको आरोप लगाए ।
सरकार एक पछि अर्को गलत कार्यमा अगाडि बढिरहेको दाबी गर्दै प्रचण्डले उठेका प्रश्नहरूबारे संसदको रोष्ट्रमबाट भद्र जवाफको अपेक्षा गरेको बताए । अन्यथा, सडकमै घिसारेर भएता पनि जवाफ खोज्ने चेतावनी दिए ।
‘संसद्को रोष्ट्रममा भद्र तरिकाले जवाफ मागिन्छ । धेरै अभद्र भयौ भने सडकमै घिसारेर, सडकमै जवाफ मागिन्छ’ प्रचण्डले अगाडि भने, ‘तिमीहरूलाई के लाग्छ ? माओवादी मर्यो भन्ने लाग्छ ? जे गरेपनि हुन्छ भन्ने लाग्यो ? जवाफ दिनुपर्दैन भन्ने लाग्या छ ? खबरदार !’
यसअघि माओवादी केन्द्रसहितका विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई नै भनेर ज्ञापनपत्र बुझाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रबारे जानकारी गराएका थिए । विपक्षी दलहरू सरकारको आलोचनामा उत्रिएपछि शुक्रबार सत्तारुढ दलहरूले संयुक्त वक्तव्य निकालेर सडकबाट सरकार नफेरिने भन्दै प्रतिवाद गरेका थिए ।