अर्घाखाँची : अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर ११ मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समुहको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको परिसर कपिलवस्तु १ बिरपुरमा भएको कार्यक्रममा बोल्दै सामुदायिक वनका अध्यक्ष जुद्द बहादुर नेपालीले वातावरण मैत्री उद्यान, सिमसार संरक्षणसँगै वन संरक्षणमा जुटिरहेको जानकारी दिए । उनले गैडे सामुदायिक वनले नाङ्गा डाँडाहरुमा वृक्षरोपण, भू–क्षय न्यूनीकरण, वन अतिक्रमणको न्यूनीकरण, वन्यजन्तुको संरक्षण र जैविक विविधताको संरक्षण गर्दै आइरहेको जानकारी दिए ।
अध्यक्ष नेपालीले आफ्नो कार्यकालमा गरिएका कामहरुका बारेमा उपभोक्ता समूहको साधारण सभामा जानकारी गराए ।
गैडे सामुदायिक वन उपभोक्ता समूहका सचिव सीता बेल्वासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनबाट प्राप्त हुने वन पैदावारको न्यायोचित वितरण, वन स्रोतबाट प्राप्त भएको आम्दानीको समूहको कार्यक्षेत्रमा रहनुभएका उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्र्बदनका लागि उपभोक्तासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिइन् । उनले वन संरक्षण सम्वद्र्धन तथा वन विकास कार्यक्रमतर्फ १३ वटा, संस्थागत विकासतर्फ १२ वटा, गरिब विपन्न जीविकोपार्जन सुधार कार्यक्रमतर्फ ४ वटा, वन पैदावर सदुपयोगतर्फ ७ वटा र सामाजिक विकासका ६ वटा कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हुमकला आचार्यले गतवर्ष १ करोड ३४ लाख बजेट साधारण सभामा पेस गरेकी थिइन् । साथै उनले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड २७ लाख ६६ हजार ६ सय ८१ रुपैयाँ बराबरको प्रस्तावित बजेट पेश गरेकी थिइन् ।
उनले हाम्रो वन सम्पूर्ण उपभोक्ताको धन भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि बढेको बताइन् । आगामी दिनमा अझै उपभोक्तालाई सहज बनाउने र सहकार्य गर्दै अगाडि बढ्ने पनि उनको भनाइ छ ।
लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरीवेक्षक संयोजक हुम बहादुर घर्तीले प्रस्तुत गरेका थिए । उनले समूहले आम्दानी र खर्चको विवरण पारदर्शी राखेको, वन संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको साथै समूह क्षेत्रभित्र सामाजिक र गरीबी निवारण, जीविकोपार्जनका काम गरेको बताइन् ।
साधारण सभामा प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठले वन जोगाउन गैडे सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गर्दै सबैको सक्रियताले मात्रै त्यो सम्भव भएको बताए ।
२०४८ सालपछि सामुदायिक वनहरुको प्रयासमा हराभरा भएको उल्लेख गर्दै आगामी दिनमा पनि हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक तुल्याउन सबैले भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठले गाउँटोलको विकासका लागि सामुदायिक वनको भूमिका अहम् रहेको बताए । उनले सामुदायिक वनका माध्यमबाट संरक्षण कार्यक्रम, आर्थिक उपार्जन हुनुका साथै रोजगारी सृजना लगायत विकास निर्माण कार्यले समेत मुलुक समृद्धितर्फ अघि बढेको दाबी गरे ।
कार्यक्रममा वरिष्ठ वन प्राविधिक डिफानका पूर्व अध्यक्ष दामोदर सर्माले सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षणसँगै विकास निर्माणका कामहरु गरी नमुनायोग्य काम गरेको र सरकार सञ्चालनमा सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख ईश्वरीप्रसाद पौडेल, बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेत, वैज्ञानिक वन व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष रेणु सेन, वनका पूर्वअध्यक्ष सुर्य प्रसाद भुसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उनीहरुले सबैसँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, पानीको मुहान बचाउन सकिने, जडिबुटी जनावर, चराचुरुङ्गीको संरक्षणमा पनि विशेष मद्दत पुग्ने बताउँदै आगामी दिनमा पनि यसरी नै अगाडी बढ्न आग्रह गरेका थिए ।
समुहका अध्यक्ष जुद्द बहादुर नेपालीको अध्यक्षता, सचिव सीता बेल्वासेको सञ्चालन, उपाध्यक्ष सुर्य प्रसाद भुसालको स्वागत मन्तव्यमा भएको कार्यक्रममा वन तालिम केन्द्र बुटवलका निर्देशक जितेन्द्र खड्का, वरिष्ठ वन अधिकृतहरु गणेश चौधरी, चन्द्रबहादुर भाट, मोतिराम न्यौपाने, यादब सापकोटा, केसव खड्का, अर्जुन चापागार्इं लगायतको उपस्थिति रहेको थियो । गैडे सामुदायिक वन ३३८. ९८ हेक्टर क्षेत्रफलमा फैलिएकोे छ । वनमा ८५०उपभोक्ता सदस्य रहेको समूहका सचिव सीता बेल्वासेले बताइन् ।