काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंको अमृतभोगस्थान कालिकास्थान, डिल्लीबजारमा साधारण सभा सम्पन्न भएको हो ।
साधारणसभाबाट आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, ८०/८१ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरिएको बैंकले जनाएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ ३८ सहित जम्मा ५९ करोड ७९ लाख ३५ हजार ७ सय ४७ रुपैयाँ ६१ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको बैंकले जनाएको छ ।
सभाका अध्यक्ष पाण्डेले शेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिवद्ध रहेको जानकारी गराए ।
शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षको सहयोगप्रति उनले धन्यवादसँगै आगामी दिनमा सहयोगको निरन्तरताको विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।