२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरुले आम्दानी गरे ५२ अर्ब बीमा शुल्क

ADV
मध्यान्ह
२०८१ कार्तिक १२ गते २०:४७
बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरुले आम्दानी गरे ५२ अर्ब बीमा शुल्क

काठमाडौं : बीमा क्षेत्रको व्यवसाय बढ्दै गएको छ । चालु आर्थिक वर्ष (आव)को तीन महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कम्पनीहरुले बीमा शुल्क बापतको आम्दानी बढाएका हुन् । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरुले गत आवको त्यही अवधिको तुलनामा २ अर्बभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन् ।

चालु आवको असोज मसान्तसम्म नेपालका जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् । सो अवधिमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब आठ करोड एक लाख २८ हजार र लघु जीवन बीमा कम्पनीहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको शुल्क आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढाउन सफल भएको देखिन्छ । गत आव ०८०/८१ को असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड ४६ लाख ८९ लाख बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनी मध्ये समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ कम्पनीले ११ अर्ब ९९ करोड १४ लाख ९९ हजार रुपैयाँ नवीकरण सहितको बीमाशुल्क आर्जन गरेको छ । तर, अन्य जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी भने पाँच अर्बभन्दा तल रहेको तथ्यांकमा उल्लेख छ । चालु आवको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् ।

जसमा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार र साना लघु बिमक कम्पनीले १८ करोड ५६ लाख ६९ हजार बराबर बीमाशुल्क आम्दानी गरेका हुन् । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले गत आवको तुलनामा चालु आवमा बीमा निर्जीवन बीमा क्षेत्रको व्यवसाय विस्तार गरेका छन् । गत आव ०८०/८१ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४५ करोड ४७ लाख ३९ हजार बराबरको बीमा शुल्क आम्दानी गरेका थिए ।

निर्जीवन क्षेत्रको व्यवसायमा चालु आवको तीन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बीमाशुल्क आर्जनमा सबैभन्दा अगाडि देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा एक अर्ब ४३ करोड ६३ लाख ४१ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, उक्त अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब १७ करोड १९ लाख ८५ हजार र शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब १२ करोड ५९ हजार रुपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी एक अर्बभन्दा तल रहेको बीमा प्राधिकरणले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise