साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले आइतबार राति भारतलाई पेनाल्टी सुटआउटमा पराजित ग¥यो । अब उपाधिका निम्ति बुधबार नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अघिल्लो संस्करणमा पनि नेपालले बंगलादेशविरुद्ध फाइनल खेलेको थियो । तर पाँचौपटक फाइनल खेल्दा पनि उपाधि जित्न सकेन । अघिल्लो संस्करणमा जस्तै भारतलाई नै हराएर नेपाल छैटौंपटक फाइनल पुगेको छ । बंगलादेशविरुद्ध हुने फाइनल खेलको प्रतिक्षामा नेपाली फुटबल समर्थक छन् । घरेलु मैदान दरशथ रंगशालमा जारी च्याम्पियनसीपको फाइनल खेलमा टिकट पाउन मुस्किल पर्ने पक्का छ । किनकि रंगशालाको क्षमता भन्दा कयौ गुणा बढी दर्शक फाइनल खेल हेर्न इच्छुक रहेको सहज अनुमान लगाउन सकिन्छ । सेमिफाइनल खेल हेर्न नै रंगशाला भरिएका थिए भने युट्यूब स्ट्रिमिङमा पाँच लाख बढी भ्युअर जोडिएका थिए । अझ सेमिफाइनल खेलमा भएको उतारचढाबका कारण पनि फाइनल खेलको आकर्षण बढेको छ ।
सेमिफाइनलमा भारतविरुद्ध नेपालले दोस्रो हाफलको लगभग पूरा समय १० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रातो कार्ड पाउँदै रेखा पौडेल बाहिरिएपछि १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भारतले पहिले अग्रता लिएको थियो । तर लगत्तै भारतीय खेलाडी तयार नहुँदै रेफ्रीले खेल सुरु गर्दा नेपालले गोल फर्कायो । त्यो गोललाई रेफ्रीले नै मान्यता दिएन । जसको कारण एक घण्टा बढी खेल रोकियो र फेरि सुरु भयो । लामो विवादपछि सुरु भएको खेलमा नेपालले आकर्षक गोल गर्दै बराबरीको स्थितिमा ल्याए अनि पेनाल्टी सुटआउटमा भारतलाई हरायो । यस बाहेक अरु घटनाका कारणले पनि अहिले सिंगो मुलुकको ध्यान महिला राष्ट्रिय फुटबलतर्फ तानिएको छ । आम नागरिकको चासोको विषय बनेको यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी केन्द्रमा छिन्, उनी मार्फत् पुरा टीमको चर्चा भइरहेको छ । त्यसैले फाइनल खेल हेर्न मुलुकका शीर्ष नेतृत्व दशरथ रंगशाला पुग्ने सहज अनुमान गर्न सकिन्छ । खेलपछि उनीहरुले खेल मार्फत् आफ्नो राजनीतिको ग्राफ बढाउन पनि सामाजिक सञ्जालमा मिठो शब्दसहित तस्वीर राख्नेछन् ।
तर मुलुककै प्रतिष्ठा मानेर हेरिदै गरेको फुटबलबारे अरु बेला आवश्यक ध्यान समेत नदिइने गरेको तथ्य लुकेको छैन । त्यसको बलियो उदाहरण हो, सरकारको सय दिने प्रगति विवरण । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत् पढेको सय दिने प्रगति विवरणमा खेलकुद क्षेत्रको अवस्था सरम लाग्दो छ । ३६५ दिनभित्र कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट र स्टुडियम बनाउने घोषणाबारे संक्षेपमा उल्लेख छ । तर निर्माण भइरहेको बाहेक भनेर प्रधानमन्त्रीको ब्रिफिङ सकिएको छ । खेल क्षेत्रमा गर्न सकिने अरु योजना, प्रगति विवरण केही पनि सय दिने उपलब्धिमा समेटिएको छैन । जबकी क्रिकेट, भलिबल, फुटबल जस्ता खेलमा अहिलेका युवा पुस्ताको ठूलो आकर्षण छ । अनि गतिलो मैदान, राम्रो तलब र सुरक्षित भविष्य खेलकुद क्षेत्रमा नहुँदा युवा पुस्तामा सरकारको आकर्षण देखिदैन । अतः राजनीतिक नेतृत्वले खेललाई राजनीतिक कार्ड बनाउने भन्दा पनि ठोस् निर्णयमा जोड दिन आवश्यक छ ।