
आजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदै छ । तर बर्सेनि दोहोरिने अभियानका नारा जति बढेका छन्, व्यवहारमा महिलामाथिको पीडा त्यति कम भएको देखिँदैन । घरभित्रका कुटपिटदेखि अनलाइन ट्रोलिङसम्म, प्रेम सम्बन्धका विवाददेखि बालिकामाथिको जबरजस्ती करणीसम्म हिंसाका रूप फेरिए पनि महिलाविरुद्ध हिंसा उस्तै छ । प्रहरीको पछिल्लो पाँच वर्षका तथ्यांक हेर्दा महिला बेचबिखनका ६ सय ९७, बहुविवाहका ३ हजार ५ सय ८७, बालविवाहका ३ सय १ र जबरजस्ती करणीका १२ हजार ६१ घटना दर्ता भएको देखिन्छ । झट्ट हेर्दा केही अपराध घटेजस्तो देखिए पनि वास्तविकता तथ्यांकमा मात्र सीमित छैन । महिला हिंसासम्बन्धी धेरै घटना घरभित्रै लुक्ने गरेका छन् । यौन हिंसाजस्ता जघन्य मानवअधिकार उल्लंघनका घटनासमेत आपसमा मिलापत्र गराउने गलत अभ्यास भइरहेका छन् । सोही कारण हिंसाका धेरै घटना उजुरीकै तहमा पनि पुगेका हुँदैनन् । प्रहरीमा पुगेका अपराधमा पनि बयान बदल्ने र अभियुक्तलाई उन्मुक्ति दिने प्रवृत्ति देखिन्छ ।
प्रविधिको विकाससँगै अपराधका तरिका पनि फेरिएका छन् । पछिल्लो समय डिजिटल हिंसाबाट पीडित हुने महिलाको संख्या बढेको छ । अनलाइन चरित्रहत्या, धम्की, निजी तस्बिर दुरुपयोगजस्ता घटना बढिरहेका छन् । साधारण महिलादेखि सेलिब्रिटीसम्म अनलाइन ट्रोलिङकै कारण मानसिक तनावमा पर्नेदेखि आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुग्नु गम्भीर छ । साइबर ब्युरोमा दर्ता हुने उजुरी र अदालत पुग्ने मुद्दा बर्सेनि बढ्दै जानुले डिजिटल अपराधको जोखिम भयावह देखाउँछ ।
पारिवारिक बन्धन, आर्थिक निर्भरता र सामाजिक डरले धेरै महिलाले हिंसा सहेरै बस्न बाध्य भइरहेको अध्ययनले देखाउँछ । अर्कोतर्फ पुरुषप्रधान सामाजिक संरचनाले पीडकको व्यवहारलाई सामान्य गल्ती मानिरहेको छ । राज्यका निकायले महिलाको आर्थिक सशक्तीकरण र कानुनी व्यवस्थाका कारण महिला हिंसामा केही सुधार ल्याएको दाबी गरे पनि पत्यारलाग्दो आधार भने देखिँदैन । महिला हिंसाविरुद्ध १६ दिने अभियान सामाजिक चेतना अभिवृद्धि गराउने एउटा अवसर पनि हो । तर चेतना कागजी नारा र सरकारी औपचारिकताले मात्र आउँदैन । हिंसा रोक्न कानुनको प्रभावकारी कार्यान्वयन, साइबर अपराध नियन्त्रणका कडाइ, पीडितमैत्री सहयोग र सबैभन्दा महत्वपूर्ण—सामाजिक सोचको रूपान्तरण आवश्यक छ । किनभने महिलामाथिको हिंसा कुनै पारिवारिक वा निजी विषय होइन, गम्भीर अपराध हो । राज्य, समाज र हरेक नागरिकले यो सन्देश आत्मसात् गर्न सके मात्र महिला हिंसा घट्नेछ ।