
आउँदो २१ फागुनमा हुने आमनिर्वाचनप्रति नयाँ मतदाताको चासो देखिएको छ । त्यसैले मतदाता नामावलीमा नाम दर्ता गर्ने लहर ल्याएको छ । २३–२४ भदौको जेनजी विद्रोहपछि राजनीतिप्रति युवाको चासो मतदानसम्म विस्तारिनु उत्साहजनक संकेत हो । काठमाडौं मात्र होइन, जिल्लाजिल्लाका निर्वाचन कार्यालयमा देखिएको भिडभाडले युवापुस्ता अब निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी हुन चाहेको स्पष्ट देखिएको छ । नाम दर्ता समय सकिनैलाग्दा निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएका व्यक्तिलाई सोही आधारमा अनलाइनबाटै मतदाता नामावलीसँग जोड्ने निर्णय गरेको छ । अब राष्ट्रिय परिचयपत्र भएका नागरिकले नाम दर्ता गर्न कार्यालय धाउनुनपर्ने भएको छ । उनीहरूले घरमै बसेर अनलाइन आवेदन दिएर मतदाता परिचयपत्र पाउन सक्नेछन् । यसले विदेशमा रहेका, व्यस्त वा लामो लाइनमा बस्न नचाहने व्यक्तिका लागि पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न सहज वातावरण बनेको छ ।
निर्वाचन आयोगले लागू गरेको यो प्रणालीले नागरिकको समय र श्रम दुवै बचत गर्छ । अहिलेको डिजिटल युगमा त्यसै पनि एकै प्रकृतिका धेरै विवरण धेरै ठाउँ भर्नुपर्ने बाध्यताले नागरिक वाक्क छन् । एकठाउँ लिइएको नागरिकको बायोमेट्रिक विवरण अर्कोठाउँ प्रयोग नै नगर्ने अभ्यास थियो । राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणले मतदाता नाम दर्ता प्रक्रिया स्वतः अघि बढ्ने निर्णयले पारदर्शिता पनि बढ्नेछ । यसले नेपाललाई डिजिटल लोकतन्त्रतर्फको दिशामा अघि बढाएको छ । सँगै, चुनौती पनि त्यत्तिकै छन् । काठमाडौंमा मात्र २५ हजारभन्दा बढी नाम दर्ता भइसकेका छन्, जसका कारण सर्भरमा समस्या आएको छ । सीमित उपकरण र जनशक्तिका कारण केही कठिनाइ पक्कै छ । निर्वाचन आयोगले अब प्राविधिक क्षमता विस्तार, सर्भर स्थायित्व र प्रयोगमैत्री अनलाइन प्रणालीमा तत्कालै सुधार गर्नुपर्छ ।
नेपालमा जनप्रतिनिधि चयन गर्नेबेला बेवास्ता गर्ने, राजनीतिप्रति सामान्य चासोसम्म नराख्ने तर शासन सत्ताप्रति सधंै प्रश्न मात्र उठाउने प्रवृत्ति पनि छ । नागरिकले निर्वाचनमार्फत सही नेतृत्व चयन गरेर आफ्नो दायित्व पूरा गर्नुपर्छ । मतदाता नामावली दर्तामा देखिएको आकर्षणले नयाँ पुस्तामा राजनीतिक रुचि बढेको संकेत गरेको छ । युवाको यो राजनीतिक उत्साह क्षणिक हुन नदिनु राज्यको पनि जिम्मेवारी हो । दर्ता प्रक्रिया सहज एउटा सकारात्मक कदम हो । तर मुख्य दायित्व मतदानप्रति युवालाई आकर्षित गर्नु, उनीहरूको मत सुरक्षित एवं प्रभावकारी रूपमा उपयोग हुने वातावरण बनाउनु हुनेछ । त्यो सुनिश्चित गर्न भयरहित वातावरणमा आमचुनाव सुनिश्चित गर्नुपर्छ ।