
पछिल्लो समय युवापुस्ताका युवा र कतिपय राजनीतिक दलका नेता सडकमा आमुनेसामुने भएका छन् । बाराको सिमरामा एमालेका नेता/कार्यकर्ता र जेनजी युवाबीच भएको झडपजन्य घटना सेलाउन नपाउँदै आइतबार मोरङको विराटनगरमा केही युवाले नेता भानुभक्त ढकाल र महेश बस्नेत चढेको गाडीमा रातो मसी छ्यापे । लगत्तै दुवै नेतालाई लक्षित गरेर इटहरी पुगेपछि केही युवाले प्रदर्शन गरे । यस्ता घटनाले समाजलाई एकातिर द्वन्द्वमा लैजान सक्छ भने अर्कोतिर निष्पक्ष र भयरहित निर्वाचन गराउने उद्देश्यमा धक्का पुर्याउन सक्छ । समाजलाई द्वन्द्वमा लैजाने शक्तिले जितेको अवस्थामा लोकतान्त्रिक अभ्यासले हार्नेछ । यस्तो चाहना जेनजी युवाले राखेका छैनन् र यसका लागि २३ र २४ भदौमा आन्दोलन गरेका पनि होइनन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको माग राखेर भएको जेनजी आन्दोलनले राजनीतिमा पनि पुस्तान्तरण खोजे । जसको प्रभाव राजनीतिक दलहरूमा देखिएको छ । पछिल्लो समय नयाँ राजनीतिक दल खोल्ने र पुराना दलहरू ध्रुवीकरणमा जाने प्रवृति ह्वात्तै बढेको छ । यसको कारण भनेकै जेनजी आन्दोलनपछिको परिवर्तित परिस्थिति हो । निर्वाचन आयोगका अनुसार दर्ता दलको संख्या १ सय ३२ पुगेको छ । यसमध्ये १३ वटा नयाँ दल हुन् । दलहरू खोल्ने लहर र ध्रुवीकरणको प्रक्रिया नियाल्दा कतियमा त्रास र कतिपयमा आस देखिन्छ । खासगरी युवा नयाँ नेपालको सपना देखेर राजनीतिमा होमिएका छन् भने कतिपय पुराना राजनीतिक शक्तिमा अस्तित्वको खोजी भइराखेको छ । अस्तित्वको खोजीमा रहेका १२ वटा दल र समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी नै बनेको छ । पुराना दलका पनि दोस्रो र तेस्रो पुस्ताले मिलेर नयाँ पार्टी र अभियान सुरु गरेका छन् । एकातिर दल दर्तामा लहर नै आउनु र जनतामा जान आतुर देखिनु र अर्कोतिर सडकमा जेनजी युवा र नेता अवरोधको शैलीमा आमुनेसामने हुने मिल्दो दृश्य होइन ।
लोकतन्त्र भनेको जनताको मत जितेर शासन गर्ने व्यवस्था हो । जो कोही निर्वाचनमार्फत सत्तामा पुग्न सक्छ । यही नै यो व्यवस्थाको सुन्दर पक्ष हो । यसलाई स्वीकार गर्ने हो भने कुनै शक्तिलाई कुनै ठाउँमा पुग्न रोक लगाउनु कदापि स्वीकार्य होइन । जनता भनेका जे भने पनि सुन्ने र पत्याउने पात्र हुन् भनेर जनताको विवेकमाथि प्रश्न उठाउने प्रवृति पनि उचित होइन । जनताको प्रतिनिधि हुन खोज्नुभनेको जनताले अनुसरण गर्ने बोली र व्यवहार प्रदर्शन गर्न तयार हुनु हो । यसकारण कोही सडकमा भिड्नेहरू जनप्रतिनिधि बन्न लायक हुँदैनन् । निर्वाचनमा जनताको मत जित्ने कार्यमा प्रतिस्पर्धा गरे जो कोही सत्तामा पुग्न सक्छ अन्यथा फेरि सडकमै भेटिने अवस्था बन्नेछ ।