२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

दक्ष जनशक्ति मात्र विदेश पठाउन सरकारसँग एनआरएनएको आग्रह

ADV
२०८१ कार्तिक १३ गते ०६:४०
दक्ष जनशक्ति मात्र विदेश पठाउन सरकारसँग एनआरएनएको आग्रह

काठमाडौं : गैरआवसीय नेपाल संघ (एनआरएनए)ले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दक्ष जनशक्ति मात्र विदेश पठाउन नेपाल सरकारसँग आग्रह गरेको छ । गैरआवासीय नेपाली दिवस, वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ २०२४ का अवसरमा आयोजित कार्यक्रममार्फत एनआरएनएले सरकारसँग उक्त आग्रह गरेको हो ।

एनआरएनएले ग्लोबल कन्क्लेभ २०२४ मा विभिन्न ७ सत्रमा प्रस्तुत निष्कर्षहरू सार्वजनिक गर्दै एनआरएनएले गन्तव्य देशको परिवेशअनुसार सचेतना प्रवाह गर्ने, र श्रम सम्झौता भएको देशसँग सम्झौता नवीकरण तथा नयाँ सम्भावित गन्तव्यसँग श्रम सम्झौता गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

साथै वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषसँग सहकार्यमा तत्काल आवश्यक संयन्त्र बनाइ कार्यान्वयन गर्न संघ अनुरोध गरिएको छ ।

थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजी, कम्बोडिया लगायतका देशहरुमा रहेका नेपाली मूलका ५ लाखभन्दा बढी नेपालीहरु नेपाली मूलका विदेशी नागरिक पीएनओएसको पहिचान (परिचयपत्र) का लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चित गरी संघीय निर्वाचनमा विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसँग अनुरोध गरिएको छ । 

बहुसंख्यक नेपालीहरू रहेका पोर्चुगल, क्रोएशिया, रोमानिया, माल्टा, इराक (कुर्दिस्तान), टर्की लगायतका देशहरूमा दूतावास तथा कन्सुलर सेवा स्थापना गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ ।

एनआरएनएले विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन आग्रह गरेको छ । यस्तै वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने आफूहरुको अपेक्षा भएतापनि केही हदसम्म गैरआवासीय नेपाली नागरिकता वितरण प्रक्रियाले सकारात्मक सन्देश दिएको उक्त निष्कर्षपत्रमा उल्लेख गरिएको छ । 

तर नेपालको संविधान २०७२ को धारा १४ को कार्यान्वयनमा नागरिकता ऐन २०६३ र नागरिकता नियमावली २०६३ संशोधनपछि पनि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा गैरआवासीय नेपालीहरूमा निराशा थपिएको उल्लेख गरेको छ । गैरआवासीय नेपाली नागरिकता प्रयोजनका लागि आवश्यक कानूनहरु एकमुष्टरुपमा संशोधन यथासक्य चाँडै गर्न अनुरोध गरिएको छ । 

यसका साथै नेपालमा सम्पत्ति (विशेषतः पैतृक सम्पत्ति) प्राप्त तथा खरिद गर्न मालपोत कार्यालयहरूमा आवश्यक परिपत्र जारी गरी जग्गाधनी प्रमाणपत्रमा गैरआवासीय नेपाली नागरिकताको विवरण समावेश गर्ने प्रक्रिया सहज बनाउन आग्रह गरिएको छ ।  

एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनको अन्तिम चरणमा रहेको छ । गैरआवासीय नेपालीको साना तथा मझौला लगानीलाई नेपालमा ल्याउन नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै, अन्य कानूनी सुधारका लागि अपेक्षा व्यक्त गरिएको छ । यसबाट रोजगारी सिर्जना, उद्यमशीलता, पूर्वाधार विकास, र जीवनस्तर उकास्न मद्दत विश्वास लिइएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । यसलाई साकार बनाउन सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवद्र्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गरिएको छ  । गैरआवासीय नेपाली नागरिकलाई आन्तरिक उडानमा विदेशी सरह कायम गरिएको हवाई भाडादर नेपाली नागरिक सरह गर्न अनुरोध गरिएको छ ।  

जलवायु परिवर्तनले महिला तथा बालबालिकालाई पारेको नकारात्मक असर न्यूनीकरण लागि नेपाल सरकारसँग आवश्यक नीति नियम निर्माणका लागि आग्रह गर्दै गैरआवासीय नेपाली संघ महिला तथा बालबालिकाको क्षेत्रमा नेपाल सरकारसँग जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

समानताको माग गरिरहेका पूर्व गोर्खाज्हरुको मागप्रति यो कन्क्लेभ एक्येबद्धता जाहेर गरिएको छ । 

नेपाल सरकार र बेलायत सरकारबीच जारी जीटुजी वार्ता विभिन्न कारणबस तार्किक निष्कर्षमा नपुगिरहेकोले परराष्ट्र मन्त्रीस्तरीय वार्ताको वातावरण निर्माण गर्न नेपाल सरकारसँग अनुरोध गरिएको छ । 

जीटुजी वार्ता समूहमा गैरआवासीय नेपाली संघ अन्तर्गतको गोर्खा टाक्सफोर्सका प्रतिनिधिलाई संलग्न गराउन नेपाल सरकारसमक्ष अनुरोध गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise