-ज्योति जंगल
चालिसपछिका केही वर्ष भोगेका मेरा आँखाहरु जीवनको तेस्रो गोरेटाको परिभाषा खोजिरहेछन् । नेपालीका अधिकांश बाटा जागिरसँग आएर टुङ्गिएको दृश्यमा यी आँखा बानी परेका छन् । त्योभन्दा अलि पर विदेश, अझै पर व्यापार र सबभन्दा नजिक दुईखाले खेती हुन्छन् । एउटा माटामा उब्जाउने खेती अर्को निराशाको खेती ।
मैले पनि बीसौं वर्षअगाडि जागिरको अङ्गालोमा बेरिएर एक आम नेपालीको झैं सपना पूरा गरेकी थिएँ । अनि जीवनको दैनिकीमा अफिस थपिएको थियो । पाइलामा अफिसको बेग्लै जन्जिर बाँधिएको थियो, भलै मेरा त्यसपछिका सारा सपना जागिरले दिएको फलिफापबाट पूरा भएका छन् ।
हिँडेपछि, एक फाइलभन्दा बेसी सोमरस पिएजस्तो समयकै नशा लाग्दोरहेछ । जागिरकै नशा पो रमरम लाग्दोरहेछ । जागिरको दूध खाए पनि नशाचाँही अर्कै लाग्दो रहेछ । शक्ति र पदको नशा । पैसाको समेत नशा । ससाना फाइदाका लागि सत्तामा पार्टीका नेता कार्यकर्ता यताउता पोइल गएझैं एजेन्डा मिलेपछि जागिरका पात्रहरुले पनि अर्कै जुनीको अवतार लिएको धेरैपटक देख्नु प¥यो । दुइवटा भाषा बोल्ने जिब्राहरु, दुइटा आँखा हेर्ने दृष्टिहरु र पदीय दायित्वको धज्जी उडेको समेत नमस्कार गरेरै स्वागत गरियो ।
जागिरको भाषामा मिसिएको अलौकिक सालीनता जिब्रोभन्दा भित्रबाट निस्किएको कहिल्यै देख्न पाइएन । न प्रशंसामा, न काममा, न वर्कर युनियनमा, जागिर इमानदारीभन्दा बेसी निजी लालच टाँसिएर काइते जीवन बाँचिरहेको टुुलुटुलु हेरियो । प्रक्रियाको हवाला दिएर लिएको प्रतिशोधको मारमा परेका कैयन् पहेँला अनुहारको सहयोग गर्न पनि सकिएन । न चुपचाप काममा जोतिएको कारिन्दाको काँधमा चढेर सफलताको ढोल पिटिहिँड्ने कार्यालयका आधिकारिक भाषा नै सच्याउन सकियो ?
कताकता दस पाँच नापेर जिन्दगी हारियोजस्तो नैराश्यको नशा चढ्छ । माइतमा आमासँग समेत एक रातभन्दा बढी नबसेकी छोरी भएको जागिरको सुरुदेखि नै हो । त्यसै हुँदाहुँदै कमाउने छोरीलाई आमाबुवाले पनि कम माया गर्दा रहेछन् भनेर उल्टै जन्मदातालाई फतुर अनुभूतिको लबस्तरो आक्षेपसमेत लाइयो । कताकता अन्नदाताको प्रतापले आफ्नै कमाइमा बाँचेको भ्रम छर्नुको सफलता र सधैंको महिनावारी हिसाबको टुमटुम सी ग्रेडको सिनेमाका द्वन्द्व जसरी उत्रिएर आउँछन् । त्यसबेला जागिर नखाएर घरमै आरामले बसेका दिदीबहिनीको मस्तीको डाह पनि राखियो । तिनले किनेका मूल्यवान गहना र लुगाको आरिस गरियो मनमनै । कहिलेकाहीँ जागिरले दिएको रकमी सुरक्षाको महत्वले आशाको रसायन पैदा गर्न सक्दैन रहेछ । न कतै आरामले घुम्न दिएको छ, न बिरामी भएको सन्तानसँग जाती हुन्जेलसँगै बस्न दिएको छ । कहिल्यै सामाजिक हुन पाइएन । न कोही आफन्तले लाएको पूजापुराणमा एउटा सिङ्गो दिन सकियो ? न मराउपराउमा मन राख्न केही दिन खटेको सन्तोक गर्न सकियो । न उच्चपदस्थको भजन गाएर निजी फाइदा लुट्ने भूमिका निर्वाह गर्न खोक्रो नैतिकताले दियो ? खैनी नमाड्ने अभयलिङ्गी हातहरु, चियर्स नगर्ने दैनिकी र प्रस्ट बोल्ने धृष्टता बोकेपछि सबैतिरको प्राथमिक सूचीबाट छाया पनि गायबमा पर्दोरहेछ । त्यताबाट सोची ल्याउँदा कारिन्दा मन धुरुधुरु रोइदिन्छ जसरी नशामा धूत कोही पियक्कड मधुशालामा निर्बाध रोइदिन्छ ।
यसरी नशा धूत भएका बेला मान्छे न्यायच्यूत हुन सक्दैन । यी आँखामा प्रमुख पदधारीको जवाफदेहिताले सताइरहेको बेचैन समय पनि प्रत्यक्ष देखिन्छ । तर उच्च हुनुको मर्म लिएर उच्च जोखिम बाँचेको हाकिमको तनावको हिसाब कार्यालयको बहीखातामा लेखिँदैन । तिनका गाडीका नम्बर, इन्धनको बिल, वैदेशिक भ्रमण र बैठकको संख्या एकएक लेखिन्छ । तिनीहरूभन्दा उच्च ओहोदाकाहरूले तिनका कान समात्ने गरेका अदृश्य शक्तिका हातहरू देखिन्छ । न यिनका कलमका निब घुमाउने अदृश्य टेलिफोनका कलहरू नै सुनिन्छ ? कानुन, नियमावली र परिपत्रको दफाको व्याख्या कुनै सीएको वित्त शीर्षकको समझमा आउँदैन र बेहिसाब रहन्छ । अनि निर्णयको पल्ला कता ढल्किन्छ त्यो निर्णायक स्वयंले थाहा पाउँदैन । थाहा पाएर चेतना बोकी हिँड्नेले त्यहाँ धेरैसमय टिक्न पाउँदैन । ऊ इमानदार भइरहन्छ अख्तियारको आस्थामा आँच नआउन्जेल र कसैको छिर्के निवेदनमा ऊ फेरि बलि हुन बेर लाग्दैन अफिसियल्ली । त्यसैले टिकाउ निर्णय भएको बारबार हेरिबसियो अफिसियल्ली । चाहे त्यो नीतिगत अपचलन नै किन नहोस् नागरिक ताली पड्काएरै बसियो रमिते हलको पछिल्लो सिटमा । कहिलेकाहीँ उच्चहरूले कोही नजिककालाई दिने सिस्टमबाहिरको क्षणिक लाभ, करमुक्ति अथवा राम्री काज त मह काढ्नेले चाटेको हात मात्र हो । तिनले निरन्तर लिएको जोखिमको साइड बिजिनेस मात्र हो । केही तलमाथि परिहाले पत्रिकाले बजाउने समाचारको मूच्र्छनामा सबभन्दा पहिला तिनैले पाइलाले नाच्नुुपर्छ । हत्कडीको चुरा लगाउनुपर्छ । नत्र सेटिङ नमिलुन्जेल गर्धन समात्ने कानुनी बाघपञ्जाको तिनैले सामना गर्नुपर्छ । त्यसैले अनिर्णयको बन्दी भएर बजेट फ्रिज हुनु एकदम स्वाभाविक हो रहेछ अफिसियल्ली । किनकी काम गर्नु सबभन्दा अप्ठ्यारो अफिसियल जवाफदेहिता हो । काम गर्दा हजार नाजायज प्रश्नका जवाफ दिन थाल्नुपर्छ । काम गरेन भने प्रक्रियामा छ भन्दा भइहाल्छ । घाम झुल्किहाल्छ । अस्ताइहाल्छ ।
अफिसियल्ली बाँच्न नजानेर चित्त दुखाउनुको कुनै अर्थ छैन भन्ने भर्खर थाहा भयो । एकै परिवार भएर वर्षौं सँगै बाँचेका मनुवाको अफिसपछिको नभेट देख्दा बेकार लाग्छ सम्बन्ध । ऐन मौकामा आफ्नै साथीविरुद्ध चुक्ली लगाउने साहस हुनु अनिवार्य हुन्छ अफिसियल मित्रतामा । झूटो प्रमाणसमेत पेस गर्न सक्नुपर्छ त्यसबेला । अझ अफिसियल भाषाको व्याख्या सुनेपछि मौनव्रत बस्नु जायज लाग्छ । मनमा सेवा सफा नभए पनि, नियत सफा नभए पनि, सेवाग्राहीको फाइलमा कागजातको हलो अड्काए पनि भाषा मिलाएर बोल्न जान्नु नागरिकको उच्च सेवा हुन्छ । मूल्याङ्कनको लाभ र बढुवाको चाखले सहकार्यको नोकरशाही हातहरू मिल्छन् । अर्को इमानदार कुनै बलियो भिलेनको मुक्का नपाए पनि पछारिएको पछारिएकै सिद्धिन्छ । तिनको वकालतमा कोही पदीय भगवान् हाजिर हुँदैन । न तल न माथिको । यसरी केवल इमान र आत्मउत्प्रेरणाले कार्य गर्ने कारिन्दा माथिमाथि चढ्नेहरूको लोकन्ते मात्र हुन्छ र अफिसियल्ली जोकर हुन्छ । बिहे अर्कैले गर्छ मनोरञ्जन अर्कैले उठाउँछ घरजम अर्कैले गर्छ उसको पिठ्युँपछाडि । उसको अनुहारको हाँसो खोसेर उसैलाई लाखे नचाइरहेका र त्यही नाचमा रमाइरहेका अफिसियल्ली जजहरु देखेर धिक्कारको सुसेली तान्न मन लाग्छ । साला अफिसियल सहिद जिन्दगी ।
र मैले खोजेको तेस्रो गोरेटोमा गन्तव्यको धूमिल चित्र फेला पर्न थालेको छ यतिखेर । पहिलो धर्कोमा मानवीयताको अवकाश ठान्न थालेको छु । तर अफिसियल जीवनको आयु एक दिन सकिन्छ भन्ने बिर्सनुपर्ने अनिवार्य सर्त रहेछ । जागिरभन्दा पर्तिर पनि अर्को संसार छ भन्ने नसम्झनु, संवेदना र आत्मिक सद्भाव नराखी मिलेर बाँच्न जान्नु अफिसियल जीवनको सार रहेछ । सम्बन्धको औपचारिक नजिकपनको आभास दिएर अमूक प्रतिफलसम्म कसैलाई आफन्त बनाउन सक्नु अनि उद्देश्य प्राप्त भएपछि लौरो फ्याँक्नु अफिसियल चलाखी रहेछ । अफिसियल कूटनीतिक भाषाको विज्ञता हासिल गर्नु, अफिसियल सङ्गीतको आँगनमा भेष फेरीफेरी, समूह फेरीफेरी भद्दा तालले नाच्न जान्नु उचित हुने ज्ञान प्राप्त भएको छ । सबभन्दा पहिला नैतिकता पखालेर चोखो हुनु अनिवार्य रहेछ । नीति सच्याएर होस्, नियम खुम्च्याएर होस्, फलानाले गर्दा भनेर अपजस पन्साएर होस् जसरी हुन्छ आफ्नै दुनो सोज्याउन जान्नु नै सफलता हो रहेछ अफिसियल्ली । चाहे अर्काको खप्परमा लात किन नलागोस् । तर यी सबै परिघटनाका परिच्छेदहरुमा देश र जनताको सेवाका लागि हो भन्ने मन्त्र भट्याउनचाँही कसैले बिर्सनु हुँदैन रहेछ अफिसियल्ली ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies