२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

समस्याग्रस्त सहकारी : डेढ अर्ब बचत फिर्ता

ADV
अस्मिता बम
२०८१ कार्तिक १४ गते ०६:५०
समस्याग्रस्त सहकारी : डेढ अर्ब बचत फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारीबाट एक लाखसम्मको बचत फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको एक अर्ब ५१ करोड ५३ लाख ३७ हजार रुपैयाँ फिर्ता भएको हो । एक लाखभन्दा कम बचत भएकाहरूको पूरै फिर्ता भएको छ ।

एक लाख भन्दा बढी बचत रकम भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार पत्रकार सम्मेलन नै गरेर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता गरेको जानकारी दिए । 

मन्त्री अधिकारीका अनुसार समितिमा कुल ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपैयाँ माग दाबी रहेको थियो । त्यसमध्ये १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत फिर्ता गरिएको हो । 

फिर्ता भएको रकममध्ये १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार ७१५ रुपैयाँको हिसाब राफसाफ भएको छ । थप ३ करोड १ लाख ९९ हजार रुपैयाँ आंशिक रूपमा फिर्ता भएको समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त घोषणा भएका सहकारीहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापन गरी बचतकर्ताको बचत फिर्ताको काम गर्ने गरेको छ । समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्तामध्ये ६ हजार १ सय ५५ बचतकर्ताको बचत रकम फिर्ता भएको समितिले जनाएको छ ।

२०८० सालपछि समस्याग्रस्त घोषणा भएकाबाहेक ओरेन्टलसहित पुराना १२ सहकारीको बचत चालु आर्थिक वर्षभित्रै राफसफ गर्ने समितिको तयारी छ । १० सहकारीको भने चालु आवभित्र ५० प्रतिशत राफसाफ गर्ने लक्ष्य लिएको मन्त्री अधिकारीले बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमका अनुसार तिहारपछि समितिले सहकारीका सञ्चालक समिति र ऋणी सदस्य एकाघर परिवार र जमानतकर्ताको  जायजेथा लिलाम गर्ने,  खाता रोक्का गर्ने गरेर रकम संकलन गरी बचत फिर्ता गर्नेछ ।

उनका अनुसार ऋण तिर्न १५ कात्तिकसम्मको समय दिइएको छ । त्यसपछि सम्पत्ति रोक्का गरी लिलाम सुरू हुनेछ । मन्त्री अधिकारीका अनुसार सहकारीको बचत फिर्ता राज्यबाट हुँदैछ । सहकारीबाट र तिनका सञ्चालक र ऋणीबाट असुल गरेर फिर्ता हुनेछ । 

समितिका अनुसार चालु आवमा १३ हजार ०७५ जना ऋणीको २३ अर्ब ६२ करोड ९७ लाख ५९ हजार ऋण असुलीका लागि अन्तिम कारबाही अगाडि बढेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise