२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

राजनीतिक लविइङमा रास्वपा

ADV
जानकी पाठक
२०८१ कार्तिक १४ गते ०६:५५
राजनीतिक लविइङमा रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ताहरू पार्टी सभापति रवि लामिछानेको पक्राउको विरोधमा छन् । मंगलबार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार अगाडि प्रदर्शन गरे । 

सडकमा सभापति लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरिरहेका रास्वपाका नेता-कार्यकर्ताहरू अदालतमा मुद्दा पुगेपछि रवि लामिछाने छुट्नेमा विश्वस्त हुन सकिरहेका छैनन् । यहीकारण रास्वपाका शीर्ष नेताहरू राजनीतिक लविइङमा लागेका हुन् । 

रास्वपाका उपसभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यस अगाडि उपसभापति अर्यालले गृहमन्त्री लेखकलाई एक्लै भेटेका थिए । सिंहदरवारमा गृहमन्त्री लेखकलाई भेटेपछि अर्याल प्रधानमन्त्री ओलीलाई भेट्न प्रमुख सचेतक परियारलाई लिएर प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

उपसभापति डीपी अर्यालका अनुसार मंगलबार वालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने तय भएकाले त्यसबारे जानकारी गराउन सरकारमा रहेका अधिकारीहरूसँग भेट गरिएको हो । ‘बालुवाटार केन्द्रित आन्दोलन भएकाले शान्तिसुरक्षाको विषय स्वभाविक थियो । त्यसकारण भेट गरेको हो । भेटमा प्रदर्शन शान्तिपूर्ण हुने जानकारी गराएको थिएँ’ उनले भने । 

रवि लामिछाने सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसआधारमा काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो । 

कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका थिए । रवि लामिछानेविरुठ ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान चलिरहेको छ । 

संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्न पाउने ६० दिनको हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ । 

लामिछाने पक्राउ परेपछि विरोधमा उत्रिएको रास्वपाले शुरुमा कास्की केन्द्रित छलफल गरेको थियो । कास्कीको पोखरा केन्द्रित प्रदर्शन छाडेर रास्वपा काठमाडौं केन्द्रित प्रदर्शनमा छ । सभापति लामिछानेलाई दोस्रोपटक म्याद थपिएपछि रास्वपाले काठमाडौंमा प्रदर्शन केन्द्रित गरेको हो । 

दोस्रो पटक थपिएको म्याद बुधबार सकिँदैछ । बिहीबारदेखि सार्वजनिक बिदा भएकाले लामिछानेको हिरासत बसाइ तिहारपछिसम्म पुग्ने भएको हो । तिहारको बिदा १९ गतेसम्म छ । २० गते मात्रै प्रहरीले म्याद थपका लागि अदालतमा लैजाने छ । 

हिरासत बसाइ लम्बिने भएपछि रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग सभापति लामिछानेलाई थुनामुक्त गरिदिन माग गर्दै आएका छन् । थुनामुक्त गरेर अनुसन्धान गर्न सकिने उनीहरूको माग छ ।

तर, संसदीय छानबिन समितिको सिफारिसका आधारमा प्रहरी अनुसन्धान अगाडि बढेको र अदालतमा मुद्दा पुगेपछि त्यहीँबाट लामिछाने उपरको कसूर निरुपण हुने जवाफ प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले दिँदै आएका छन् । 

प्रदर्शनका क्रममा रास्वपाका नेताहरूले लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको बताउँदै आएका छन् । 

उपसभापति डा.स्वर्णिम वाग्ले सत्ताले आफ्नो सभापतिविरुद्ध प्रतिशोध सांधेको बताए । सहकारी प्रकरणमा कांग्रेस सभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि अनुसन्धान नगर्नु र आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्नु सत्ताको प्रतिशोध भएको उपसभापति वाग्लेले बताए । 

सभापति पक्राउ परेसँगै सडकमा ओर्लिएको रास्वपाले सहकारी पीडितको मुद्दालाई पनि उठाएको छ । उपसभापति वाग्लेले वर्तमान सत्ताधारी ८८ अर्ब अपचलन गर्नेतर्फ लागेको अंशका गरे ।

रास्वपालाई थकाउन, तर्साउन, कमजोर बनाउन सरकार लागेपनि त्यसको प्रतिकार गरिने सांसद सुमना श्रेष्ठले बताइन् । रास्वपाले प्रदर्शनलाई निरन्तरता दिने बताउँदै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise