अर्घाखाँची : सुपादेउरालीमा चढाएको बलिको बोकाको मासु खाएर अर्घाखाँचीमा ३५ जना बिरामी भएको विषयले सुपादेउरालीको मान मर्यादामा आँच पुगेको सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।
कात्तिक ११ गतेका दिन सन्धिखर्कका एक स्थानीयबासीले नरपानीस्थित सुपादेउरालीको पूजा गरी आफ्नो भाकल अनुरुप बोका चढाइ छिमेकीलाई प्रसाद खान बोलाई प्रसाद खान दिएका थिए । उक्त मन्दिरमा चढाएको बोका सन्धिखर्क आफ्नो घर नजिकबाट खरिद गरेका थिए । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार उक्त भोजमा मासुको अपुग भइ अतिरिक्त मासु बजारबाट ल्याइ मिसाइएको थियो । उक्त भोज खाएको केही बेरमा मानिसहरु बिरामी पर्न थालेपछि बिरामीलाई अस्पताल पुर्याइएको थियो । बिरामीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको त्योक्रम अहिलेसम्म जारी रहेको र बिरामी पर्नेको संख्या ३५ पुगेको नगरप्रमुख श्रेष्ठले विज्ञप्तिमा उल्लेख्य गरेका छन् ।
यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यम सामाजिक सञ्जालमा अर्घाखाँचीको धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिरको नाम जोडि समाचार प्रकाशन प्रशारण गरेको भन्दै नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिरको नाम जोडि भ्रम नफिजाउन अनुरोध गरेका छन् । नगरप्रमुख श्रेष्ठले भनेका छन्,‘आज सामाजिक सञ्जालको अवलोकन गर्दा जिल्लाका प्रख्यात व्यक्ति,सरोकारवाला र सर्वसाधारणले आफ्नो फेसबुक पेजमा मन्दिरका बारेमा भ्रम फिजाउने खालका सामग्री समाचार प्रसारण गरेको देख्दा दुःख लागेको छ, यस्तो कार्य नगर्न उनले आग्रह गरेका छन् ।’
प्रसाद खानपुगेका व्यक्तिहरु किन बिरामी परेका हुन भन्ने कुरा प्रयोगशालामा बिरामीको चेक जाँच गरेपछि एकीन हुने कुरा उपचारमा संग्लन डाक्टरहरु जगन्नाथ तिवारी बताउँछन् । डाक्टर तिवारीका अनुसार खानामा विषादी मिसिनुका विभिन्न कारणहरु हुन्छन्, के कारण हो भन्ने कुरा ल्याब टेष्ट गरेपछि मात्र थाहा हुन्छ ।
यता मन्दिर व्यवस्थापन समितिले भनेको छ,‘यहाँ हजारौं दर्शनार्थीहरु दिनहुँ आउँछन् । सयौंको संख्यामा बलि चढ्छन् । उक्त चढेका बलिको मासु प्रसाद र पिकनिक मनाउँदै ग्रहण गर्छन् । तर आजसम्म यस्तो भएको थिएन र ११ गतेका दिन पनि धेरै जनाले बलि चढाएका थिए । प्रसादको रुपमा सबैले ग्रहण गरेर जानू भएको थियो, तर त्यहाँ के कसरी खानामा विषादी परेछ । सम्बन्धित निकायले अध्ययन गर्ला तर सुपादेउरालीको प्रसाद खाएर बिरामी परे भन्नू खेदजनक छ ।’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्स बहादुर के.सीले सुपादेउराली मन्दिर सम्पूर्ण हिन्दु धर्मावलम्बीको आस्था र शक्तिको केन्द्रका साथै अर्घाखाँचीको लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । त्यसैले मन्दिर र अहिले सिर्जित समस्यालाई जोडेर सकरात्मक/नकारात्मक कुनै पनि स्टाटस आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नराख्न र यस्तो किसिमको भ्रम नफैलाउन अनुरोध गरेका छन् ।