२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

प्रज्ञा प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गर्दै विशेष कविगोष्ठी आयोजना

ADV
मध्यान्ह
२०८१ कार्तिक १५ गते १४:४५
प्रज्ञा प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गर्दै विशेष कविगोष्ठी आयोजना

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा 'महाकवि देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी'को आयोजना गरेको छ ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समूद्घाटन गरेका थिए । उनले महाकवि देवकोटालाई स्मरण गर्नु भनेको एउटा युगलाई सम्झिनु, युगकै सर्वोत्कृष्ट र सर्वश्रेष्ठ कविलाई सम्झिनु रहेको बताए ।

कुलपति राईले त्यस समयमा नै महाकविका सिर्जनामा अग्रगामी चेतना,समावेशी चिन्तन र छुवाछूतविरुद्धको चेतना प्रखर रहेकाले न‌ै देवकोटालाई प्रगतिवादी भन्न सकिने बताए । उनले महाकवि बाँचेको मौलिक घरलाई भत्काएर नयाँ घर बनाउनु गल्ती रहेको बताए । यद्यपि नवनिर्मित भवनमा महाकवि देवकोटा सङ्ग्रालय रहनु महत्त्वपूर्ण रहेको बताउँदै उनले देवकोटामाथि खोजअनुसन्धान गर्न र साहित्यिक पर्टकीय स्थलको रूपमा अघि बढाउन लागिपर्ने बताएका थिए ।

No description available.

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्ने गरी प्रज्ञा प्रतिष्ठान जोडिएर महाकवि देवकोटाको सङ्ग्रहालय बनेको बताए । यसले देवकोटामाथि अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण सहयोग पुगेको उनले बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा बहुभाषिक कवि, स्वच्छन्दतावादी भावधारा, समावेशी र जातीय साहित्य सिर्जनालगायतका क्षेत्रमा महत्त्वपूर्ण स्थान रहेको बताए ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयलाई अध्ययन अनुसन्धानको थलो र पर्टकीय गनतव्यको रूपमा अघि बढाउन आग्रह गरेका थिए ।

समालोचक शेखर अर्यालले आँसु कवित्वसहितका महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गर्दै धाराप्रवाह साहित्य सिर्जना गर्नसक्ने विलक्षण प्रतिभा देवकोटाको आदर्श र मार्गमा हिँड्नुपर्ने बताए ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्यत्रय शैलेन्द्र साकार, नरनाथ लुइँटेल र पुरुषोत्तम सुवेदीले कविता वाचन गरेका थिए । यसैगरी कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य चेतनाथ धमला, जीवनाथ धमला, मनोज न्यौपाने, रेणुका भट्टराई, अनिता लामा, विना थिङ, गिलु रातोस् र प्रमोद सारङ्गले कविता वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रज्ञा प्रतिष्ठानका भौतिक संशाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गरेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise