२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

Nada
२०८१ कार्तिक २० गते २१:०९
Shares
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गर्नुभएको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

ncell

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ । इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।

यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ । सो समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए । 

ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए । नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई ‘भिषा फ्री’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे । 

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत छन् ।

ताजा खबर

सम्बन्धित खबर