चितवन : भरतपुर महानगरपालिका-१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु. एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिनाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताए ।
अक्षयकोषका लागि रु. ११ हजार एक सयको आजीवन सदस्य र रु. एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । पैँतालिस जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा रु. १० करोड जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा रु. १८ लाखभन्दा बढी संकलन भएको उनले बताए ।
गौँ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्व संयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।
दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।