काठमाडौं : एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत् नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्कमार्फत् भुक्तानी गर्न सकिने छ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत् नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।