काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेकोमा त्यसको कार्यान्वयनको निर्णय आजको बोर्ड बैठकले गर्ने छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले ‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय पनि गरेको थियो ।
मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बक्यौताको पुनः गणना गरी असुल गर्ने निर्णय पनि बोर्ड बैठकबाट हुने जानकारी एक बोर्ड सदस्यले दिए । बोर्ड बैठक बिहान साढे ११ बजे नै बस्ने भनिए पनि सञ्चालकहरू भरत आचार्य र रतन ऐन उपत्यका बाहिर भएकाले उनीहरू आएपछि बैठक हुने ती सदस्यले जानकारी दिएका छन् ।