भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किएका छन् । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहीबार स्वदेश फर्किएका हुन् । उनी कात्तिक २६ गते सोमबार त्यसतर्फ गएका थिए । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्यसहितको प्रतिनिधि मण्डलको विदाई गरेका थिए । स्वदेश फर्किएका मुख्यमन्त्री आचार्यले सम्मेलनमार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरु स्थापित गर्न सफल भएको बताए ।
‘सम्मेलनमार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’उनले भने,‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माणदेखि विदेशी लगानीकर्ताहरुलाई आकर्षीत गर्ने सवालमा यो भ्रमण ऐतिहासिक रह्यो ।’
सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको बीचमा भएको मितेरी सम्बन्ध पुर्नताजगी भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्बन्ध स्थापना गर्ने बारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । सम्मेलनमार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्तलगायत कुनैपनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका थिए ।
नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनका बारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सारेका थिए । प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राबिधिक विश्व विद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग, चिनियाँ विद्यायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित बस्तुवजारीकरण तथा जडिबुटी उत्पादकहरुको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धी विशिष्ट तालिम एवम् भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको थियो ।
सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत,स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी थिइन् ।
वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगेनी सम्बन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्तबीच भगेनी सम्वन्ध कायम गरेका थिए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।