२०८१ मंसिर २ गते आइतवार / Nov 17 , 2024 , Sunday
२०८१ मंसिर २ गते आइतवार

उपचुनाव : तालमेल गर्दै विपक्षी

ADV
जानकी पाठक
२०८१ कार्तिक ३० गते ०८:०५
उपचुनाव : तालमेल गर्दै विपक्षी

काठमाडौं : विपक्षी दलहरू स्थानीय तहको उपनिर्वाचनमा तालमेलको प्रयासमा लागेका छन् । आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । ४४ मध्ये कति स्थानमा तालमेल गर्न सकिन्छ भनेर विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच स्थानीय तहको उपनिर्वाचनमा चुनावी तालमेलको प्रयास भएको हो । 

माओवादी केन्द्रले सत्तारुढ बाहेकका दलसँग तालमेल गर्ने नीति अख्तियार गरेको छ । माओवादी केन्द्रले सत्तारुढ कांग्रेस र एमाले बाहेकका दलसँग चुनावी गठबन्धन गर्न मातहतका पार्टी कमिटीलाई सर्कुलर नै गरेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने व्यहोरा परिपत्रका उल्लेख छ । माओवादीको सर्कुलरले समाजवादी मोर्चामा अबद्ध रहेका माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपासँग चुनावी तालमेलको ढोका खुलेको छ । 

एकीकृत समाजवादीले पनि स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्ने निर्णय लिएको छ । उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको हो । समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको हो । पार्टीले आफ्नो संगठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा सांगठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो । एकीकृत समाजवादीमा कीर्तिपुरको मेयरमा माओवादीलाई सघाउने गरी छलफल अघि बढेको छ । दुवै दलले आवश्यकताअनुसार सत्तारूढ दलबाहेक विपक्षी दलसँग सहकार्य गर्ने नीति अख्तियार गरेपछि छलफल चलेको हो । कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षका लागि चुनाव हुँदै छ । कीर्तिपुर–४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने एकीकृत समाजवादीको प्रस्ताव छ ।

स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुन लागेको हो । राजनीतिक दलहरूल एक्लाएक्लै चुनाव लड्ने घोषणा गरे पनि उपनिर्वाचनको मिति नजिकिँदै जाँदा फेरि चुनावी तालमेलतिरै उन्मुख देखिएका हुन् । कतिपय स्थानमा सत्तारूढ कांग्रेस र एमालेले पनि तालमेलको प्रयास गरेका छन् । पूर्वी रुकुमको पुथा उत्तरगंगामा हुने उपनिर्वाचनमा तालमेलका लागि कांग्रेस र एमाले संवादमा रहेका हुन् । उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षका लागि निर्वाचन हुँदैछ । दुवै क्षेत्रमा एक्लाएक्लै लड्दा कांग्रेस र एमालेका उम्मेदवारले जित्न कठिन रहेकाले तालमेलका लागि संवाद जारी रहेको दुवै दलका नेताहरूले बताएका छन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित ११ वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise