रौतहट : बाराको महागढीमाई नगरपालिका–१ मा रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी पूरा भएको छ । मेलाका लागि अहिलेदेखि नै भारतबाट भक्तजनहरु आउने क्रम बढेको छ ।
भारतबाट मेलामा आउने भक्तजनका लागि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज बनाइएको छ ।
गढीमाई मेलाको मुख्य आकर्षण भनेको बली हो । यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बली दिने परम्परा रहिआएको छ । गढीमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा प्रचारबिना नै लाखौं श्रद्धालु भक्तजन आउने गर्छन् ।
गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाईमा नेपालका विभिन्न जिल्लासहित भारतको बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल तथा बंगलादेश र भुटानका विभिन्न क्षेत्रबाट दर्शनार्थी आउने गर्छन् ।