अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना कार्यान्वयन तथा सञ्चालन सम्बन्धी अभिमूखीकरण तालिम दिएको छ ।
तालिममा योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमूखीकरण कार्यक्रमले सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।
नगरपालिकाका सबै वडाका टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमूखीकरण तालिम प्रदान गरिएको भुसाल जानकारी दिए ।
उपभोक्ता समितिमार्फत सम्पन्न हुने योजनालाई विश्वसनीय र पादरर्शी बनाउन यस प्रकारको तालिम तथा अभिमूखीकरण सञ्चालन गरिएको नगरपालिकाका योजना अधिकृत दिलिप केसीले बताए ।
योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमूखीकरण गराइएको उनको भनाइ छ । योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान, निर्माण सामग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा अभिमूखीकरण गरिएको थियो ।
यस्तै रकम निकासा प्रकृया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्ता समितिका पदाधिकारी एवम् टोल विकास समितिका अध्यक्षहरुलाई जानकारी गराइएको नगरपालिकाका शाखा अधिकृत मन्जु खनालले जानकारी दिइन् ।
नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यको अध्यक्षतामा भएको तालिममा लेखा अधिकृत नबराज गौतम, शाखा अधिकृत मन्जु खनाल, दिलिप केसी, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधब श्रेष्ठ, २ का अध्यक्ष मोतिजङ रायमाझीलगायतले प्रशिक्षण दिएका थिए ।