२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सन्धिखर्क बजारका सडक धमाधम कालोपत्रे

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर १ गते २०:२४
Shares
सन्धिखर्क बजारका सडक धमाधम कालोपत्रे

अर्घाखाँची : जिल्ला सदरमुकाम सन्धिखर्क नगरपालिका अन्तर्गत पर्ने बजार क्षेत्रभित्रका मुख्य सडकहरुमा कालोपत्रे बिच्छ्याउने कार्य शुरु भएको छ । 

ncell

नगरपालिकाको आन्तरिक स्रोत व्यवस्थापनमार्फत नगर क्षेत्र बजारभित्रको झण्डै ४ किलोमिटर सडकखण्डमा कालोपत्रे बिच्छ्याउने काम सुरु भएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । नगरभित्रका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रे गरी सन्धिखर्क बजारलाई सफा सुन्दर हराभरा बनाउने अभियान अन्तर्गत सडकहरुलाई स्तरउन्नति गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

नगरभित्रको चार किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै सक्नेगरी सन्धिखर्क नगरपालिकाको सरकारी कार्यालय क्षेत्र जिल्ला प्रशासन कार्यालयदेखि सन्धिखर्क शान्ति बगैंचा, टुँडिखेल लाइन, बैंक रोड, मिडिया चोक, गुन्टेखोला,  हललाइन, पेट्रोल पम्प लाइन  हुँदै चुत्राबेसी भगवती मन्दिर टोल, मसाल बजार भक्तिटोला मान्द्रेबजार चुत्राबेसी घोचेखोलासम्मका भित्री तथा बाहिरी सडकहरु कालोपत्रे गर्ने काम यसै आर्थिक वर्ष सम्पन्न गर्नेगरी कालोपत्रेको कामलाई तीव्रता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

बजार क्षेत्रका मुख्य सडकहरु बिग्रिएका,  खाल्डाखुल्डी परेका, पोलहरु रहेका सडक, घरधनीले पेटिहरु प्रयोग गरेका ठाउँहरुलाई हटाएर न्यूनतम पुरानो सडकको मापदण्ड अनुसार मुख्य सडकहरु  चौडा पारेर कालोपत्रे गर्न सन्धिखर्क नगरपालिकाले नगरपालिकाको आन्तरिक बजेट व्यवस्थापनबाट झण्डै ६ करोडमा ठेक्का लगाएको नगरपालिकाका योजना अधिकृत दिलिप केसीले जानकारी दिए ।

सन्धिखर्कको मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयवासीले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै सडकमा कालोपत्रे बिच्छ्याउने काम अघि बढेको नगरपालिकाका प्राविधिक नारायण पोख्रेलको भनाइ छ  । नगरको मुख्य र भित्री बजारका सबैजसो सडक न्यूनतम मापदण्ड अनुसार सडक विस्तारमा नगरपालिका अहिले अगाडि बढेको छ । यद्यपि कतिपय स्थानमा भने मापदण्ड नपुगेरपनि स्थानीय सरकारले सडक विस्तार गरिरहेको सन्धिखर्कका समाजसेवी नरेन्द्र कुँवरले बताए ।

पहिलो चरणमा सन्धिखर्कको मुख्य बजार क्षेत्र कालोपत्रे गरेपछि सन्धिखर्कबाट विभिन्न ठाउँमा जोड्ने वडा जोड्ने राजमार्ग सहायक मार्ग जोड्ने सडकहरुमा रहेका खाल्डाखुल्डी पुर्ने कालोपत्रे गर्ने काम सुरु गर्ने नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले बताइन् । ‘बजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकिएको थियोे’ नगरप्रमुख श्रेष्ठले भने,‘अहिले दोस्रो चरणका काममा अघि बढेका छौं ।’ 

शाखा सडकहरू यसअघि पाँच मिटर कायम गरिएकोमा नगरपालिका कार्यान्वयनपछि आठ मिटरको मापदण्ड बनाएर फराकिलो पार्ने योजना बनाइएको छ तर केही पक्की घरहरु पहिले नै बनेका कारण बजार क्षेत्रका सबै सडक आठ मिटरको कायम भने हुन नसकेको नगरप्रमुख श्रेष्ठको  भनाइ छ ।

सडकमा कालोपत्रे बिच्छ्याउने काम सुरु भएपनि बजार क्षेत्रका केही मुख्य सडक भने यस पटक छुटेका छन् । ती  सडकमा कालोपत्रे र नाली बनाउनका लागि पर्याप्त बजेट नभएका कारण सबै सडक यसै पटक कालोपत्रे गर्न नसकिएको नगरप्रमुख श्रेष्ठले बताए । अहिले खनाल ब्रदर्स अर्घाखाँचीले कालोपत्रेको काम गरिरहेको छ । खनाल बदर्सका सञ्चालक कविराम खनालका अनुसार नगरपालिकाले ठेक्का कबुल अनुसारको रकम भुक्तानी दिन सकेमा मंसिरभरिमा सन्धिखर्क बजारको कालोपत्रेको काम सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर