२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संसदमै च्यातियो बजेट, खुद्रे योजनाविरुद्ध आक्रोश

ADV
दिवाकर अधिकारी
२०८१ असार ५ गते ०६:५५
संसदमै च्यातियो बजेट, खुद्रे योजनाविरुद्ध आक्रोश

काठमाडौं : मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, परराष्ट्रसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि छलफल थियो । 

छलफलमा भाग लिने अधिकांश सांसदहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति खनिए । भौतिक पूर्वाधार मन्त्रालयकै बजेट मन्त्री र शीर्ष नेता केन्द्रित भएपछि सांसदहरुले बजेटको पुस्तिका च्याते, मन्त्रीलाई पाँच रुपैयाँ दिए, बजेट माग गर्नका लागि दिएको पेपर खर्च मागे ।

भौतिक पूर्वाधारमन्त्रीले एकलौटी ढंगले आफ्नो क्षेत्रमा केन्द्रित बजेट विनियोजन गरी विभेद गरेको आरोप लगाउँदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङ्देनले संसदको रोष्ट्रममै भौत्तिक पूर्वाधार मन्त्रालयको बजेटको प्रति च्याते ।

सामान्यतया आफू कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे भएता पनि भौत्तिक पूर्वाधार मन्त्रालयको बजेटले साह्रै तताएको बताए ।

‘जब भौत्तिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दन देखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ’ भन्दै उनले बजेटको पुस्तिका च्याते । 

संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने त्यहाँ (मन्त्री भए ठाउँमा) नपुर्‍याएर यहाँ (पोडियम)राख्छु’ उनले भने ।  

पहुँचका आधारमा बजेट बाँडिएको र विनियोजनमा विभेद भएको भन्दै उनले बजेटको पुस्तिका च्यातेका हुन् ।

अध्यक्ष लिङ्देनले भौत्तिक पूर्वाधार मन्त्रालयको बजेटको प्रति च्यातेपछि राप्रपा र प्रमुख प्रतिपक्षी नेपाली सांसदहरुले टेबुल ठोकेर समर्थन गरे ।

‘यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चीज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्र देखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो’ उनले भने ।

राप्रपाकै सांसद ज्ञानेन्द्र शाहीले मन्त्रीले धनुषा र झापामा भन्दा कम बजेट सिंगो कर्णाली प्रदेशमा  विनियोजन गरेको भन्दै रोष प्रकट गरे । 

मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै उनले मन्त्रालयको बजेट नै फिर्ता गरे ।

‘यो किताब मन्त्रीज्यूलाई डाइरेक्ट दिन मिल्दैन । म सभामुखमार्फत सिंगो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको तस्तै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु । चाहिँदैन यो बजेट’ उनले भने ।

कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको बजेट विनियोजनप्रति असन्तुष्टि जनाउँदै रोष्ट्रममै मौन धारण गरे ।

‘मन्त्रीजीलाई यो देशको भुलोगबारे जानकारी छ क छैन भन्ने शंका लाग्यो । जहाँ एक ठाउँबट अर्को ठाउँमा जान भारतको भूमि भएर जानुपर्छ’ सांसद बडूले भने ।

भारतको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि २०७७ सालबाट तुसारपानी, कोशेधार टिंकर सडक निर्माण सुरु गरिएको उनले स्मरण गरे ।

७९ किलोमिटरको बाटोका लागि आफूले निकै मेहतन गरेको तर, भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नसमेटेको भन्दै उनले रोष प्रकट गरे ।

‘पूर्व निर्णयहरु लत्याइयो, त्यो क्षेत्रका प्रति जुन उपेक्षा भयो र सुनुवाइ भएन । त्यसको विरुद्धमा र त्यसको विरोधमा जनताको तर्फबाट प्रतिनिधिको नाताले भन्दा सुनिएन । म केही नभनेर एक मिनेट मौन धारण गर्न चाहन्छु’ बडूले भने । 

एक मिनेट नबोलेरै रोष्ट्रममा उभिएर सांसद बडू आफ्नो सिटमा फर्किए । 

सांसद तेजुलाल चौधरीले सांसद चौधरीले सप्तरीमा एउटा पनि योजनाका लागि बजेट विनियोजन नभएको भन्दै बजेटको रातो किताब फिर्ता गरे ।

सांसद पूर्णबहादुर तामाङले समयमै विकास बजेट कहाँ–कहाँ लाने भनेर छलफल गरेको भए संसदमा बजेटको किताब च्यात्ने र किताब बुझाउने परिस्थिति नआउन सक्थ्यो भने । 

भौतिक पूर्वाधारमन्त्रीले आफ्नो जिल्लामा बजेट केन्द्रित गर्दा र खुद्रे योजना बजेटमा राख्दा संसदमा आक्रोश पोखिएको बताए । 

कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र पत्नी जुलीकुमारी महतो निर्वाचित धनुषा ३ मा बजेट खन्याएको बताए ।

‘यतिले पनि पुग्दैन भने १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको पनि बजेट दिउँ । यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु’ रोष्टममा ५ रुपैयाँ छोड्दै आक्रोश पोखे ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए । अन्य मन्त्रालयमा पनि खुद्रे योजना परेको भनेर सांसदहरुले आलोचना गरेका छन् । यही क्रममा सांसदहरुले मंगलबार भने भौतिक पूर्वाधार. मन्त्रालयमाथि आक्रोश पोखेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise