– गणेश लोहनी, चितवन (हाल : पोल्याण्ड)
१.
कपटी राम हत्या गर्छन् दोष देखाइन्छ बालीको
फसाउँछन् भिनाजुले उछित्तो काढिन्छ सालीको
नाच्न नजान्नेले आँगनकै दोष देखाउँछन् आखिर
तसर्थ, शूली चढाइन्छ साधुलाई भजन गाइन्छ जालीको ।।
२.
फलाम गलाई फाली बनाउँछ
सोझीलाई महाकाली बनाउँछ
समय बलवान रहेछ सबैभन्दा
सज्जनलाई पनि जाली बनाउँछ ।।
३.
पटाका पड्काउँदा रमाइलो लाग्दथ्यो कति
पड्काउँदै गयो झन् झन् पड्काउँनै लाग्दथ्यो मति
पड्काउनेको क्रुरता देखि विध्वंस बमगोलाको
हेर्दै रुन्छ मन आक्रान्त युक्रेनी जनको खती ।।
४.
संसारको व्यवस्था नचल्दा विधि विधानले
महाभारतै जन्मिन्थ्यो अहंकार अभिमानले
मानव अधिकार नै नरसंहारको साक्षी बनेपछि
जन्मिरहन्छन् युद्धहरू ध्रुविय तानातानले ।।
५.
शक्तिशालीले निम्छराका भावनासँग खेलेका छन्
भिषण अमानवीय कहर झेल्नुसम्म झेलेका छन्
तुच्छ स्वार्थ सिद्धिका लागि तम्सेकाछन् मर्न मार्न
छाती भरी डढेलो बोकेर रगतको होली खेलेका छन् ।।
– हेमराज अधिकारी, सिक्किम ।
“बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँध माथि” भन्दै बुढाले तुरुक्कै आँसु खसाले । गैह्री खेतको सिरानको गह्राबाट उनले गोरु नारेर दुई गह्रा खेत जोति सकेका थिए । मिर्मिरे उज्यालोमा गोरु नारेर मने गह्रो जोतिसक्दा समेत श्रीमतीले चिया ल्याइन् भन्दै के–के बर्बराउदै गोरुलाई स्वाँठ् कुट्दै रिस देखाउनु थाले । मने दुई दिनलाई गोरु माग्नु पर्यो भन्दै भक्मिले कान्छाको छेउ के पुगेको थियो गोरु तर्सेर कुद्न थाले । भक्मिले बुढाले गोरु थाम्न हलो थिचेका मात्रै के थिए, ढुङ्गामा हलो अड्क्येर गोरुले हरिष् भाँचे । जुवामा भएका हल गोरु ठाडो पुच्छर लगाउँदै गैह्री खेतको चारैतिर कुद्न थाले । मनेको छाँया देखेर भक्मिलेले नानाथरी मुख छाड्नु थाले ।
“असती मने तैंले गर्दा मेरो हल गोरु तर्सेर हलो भाँच्यो, बल्लतल्ल काजीमानको घरबाट एउटा किम्बुको लाथ्रो ल्याएर हरिष् जोडेको त्यो पनि देखी सकिनस् । जा गएर गोरु थाम् । नथामे आज तँलाई यही गैह्री खेतमा गाड्छु”, भन्दै भक्मिले उफ्रे । तुरुरु बगेको पसिना शिरको टोपीले पुछ्दै् भक्मिले गोरु थाम्नु कुदिरहेका थिए । मने पनि धर्म संकटमा पर्दै सिधै ओरालो हानियो । दुवै फत्फताउँदै गोरु थाम्नु कुद्दै गर्दा भक्मिलेकी श्रीमती एक घान मकै, कालो कित्लिमा चिया र डोको भिरेर गैह्री खेतको खलेगह्रामा देखा परि । भक्मिले रुद्र रूपमा थिए । श्रीमतिको डोको सोको हुत्याउँदै् “तँ यतिबेलासम्म कहाँ गएकी थिइस” भनेर सुरुवाल बिगार्ने गरि हप्काए । तलबाट मने उफ्रिनु थाल्यो । “ओए भक्मिले, तेरो घरको झगडा भरे गर गोरु समाउनु आईज्, आफ्नो ढंग छैन अर्कालाई थर्काउने ?” भन्दै उफ्रिनु थाल्यो ।
कैजल्को फेदमा कसोकसो गोरु थामिए । चारतिरबाट जसोतसो तीन जनाले गोरु थाम्दै जुवा फुकाली दिए । मने गोरु फुकाल्ने बितिकै डाँढो काट्यो । श्रीमती भाँच्येको हरिष् तर्फ लागी । भक्मिले कित्लिमा भएको चिया पिउँदै सुर्तिको लुँढो चिमोट्न थाल्यो । बेलुका गोरु फकाउँदै थलोमा ल्याएर बाँध्यो । अनि लखतरान् भक्मिले ओछ्यानमा पल्टियो ।
उज्यालो हुँदा मण्डलको घरमा भक्मिले पुग्यो । हिजोको सम्पूर्ण वृतान्त बतायो । मनेले गर्दा हल गोरु बिच्केर तर्सेर हलो, जुवा, हरिष् भाँच्यो भनेर मण्डललाई उजुरी गर्यो । दिउँसो मण्डलका घरमा सबै गाउँले भेला भए । मनेलाई समेत बोलाइएको थियो । सभा सुरु गर्दै मण्डलले भने, “हेर मने, तेरो यो गाउँमा असाध्य आरोप प्रत्यारोप छ । तँ दुहुनो गाईको गोठमा जाँदा बेलुकीदेखि गाईले दुहुनो बस्नै नदिने । तैँले कुनै नानीलाई भात खुवाउँदै गरेको हेर्दा चोखा लाग्ने आरोप छ । गाउँमा कसैलाई लाग–लगनको चिन्ता, अक्षता अन्साई–मन्साई गर्दा तँ छस् भने त्यो बिमारी बीसको उन्नाइस नहुने कुरा छ । हिजो फेरि भक्मिलेको असारमा जोत्नु लगेको गोरुलाई तर्साएर बिचरा भक्मिलेले पाउनुसम्मको दुःख पायो । हल गोरु झन्डै मर्यो । हलो जुवा, हरिष् भाँच्यो । अब के गर्छस् ? तँ त यो गाउँमा बदमाश होस् । अब तैँले भक्मिलेको खेत रोपिदिनु पर्यो, कि के भन्छौ हो गाउँले हो ?”
मण्डलको कुरा काट्ने हिम्मत त्यो गाउँमा कसैसँग थिएन । सबैले होमा हो मिलाए । भक्मिलेले मण्डललाई हेर्दै आँखा झिम्क्यायो । मने रुँदै “होइन मलाई यो के आरोप आइलाग्यो” भन्दै सभामा रुवाबासी मच्चाउन थाल्यो । हात जोड्दै भक्मिलेलाई पाँच खेताला सघाउने बन्दोबस्त गर्यो । सभा सकियो । सबै घर फर्के । बेलुकी साँझमा भक्मिले मण्डलको घरमा दसपाथी धान लिएर पुग्यो । धानको भारी देख्ने बितिक्कै मण्डल खुशी भए । मण्डलनिलाई बोरा राख्नु दिँदै मण्डलले भक्मिलेलाई धाप मारे ।
“अझै केही पर्यो भने भन भक्मिले ? तेरो सिमानाको झगडा पनि मिलाइदिन्छु एक मुरि धान ठिक पार्नु ।” भक्मिलेले “हस् हजुर” भन्दै हात जोड्यो ।
पन्ध्र दिन पछि मने, धने, बिरे, कर्णे, एक सुरुमा नारा लाउँदै मण्डलको घरमाथि डाँडामा उत्पात मच्चाउन थाले । सरकारले मण्डल शासन समाप्त गरेर प्रजातन्त्र घोषित गरेछ । गाउँमा यस्ता मण्डलहरुको साह्रै रगरगी थियो । गरिबलाई जुधाएर मण्डलको चुल्हो जल्थ्यो । भक्मिले जस्ता सोझा र आदर्श किसानले मण्डलको परिवार पालेका थिए । हिजोसम्म मण्डलको कुरामा लहैलहै मिलाउने सबै गाउँलेहरु एकजुट भए । उता मनेको छोरा डाक्टरी पढ्न गएको थियो । मने र भक्मिले पनि एकजुट भए । मनेको छोरा डाक्टर पढेर गाउँमा आयो । उ पशुको डाक्टर थियो । सबैको उपकार गर्यो । मने, भक्मिले र गाउँलेहरु मण्डलको कारणले झगडा गर्थे । अब उनीहरु सबै मिले । एक दिन मण्डलको गाई बिरामी भयो । उनले उपचारको निम्ति डाक्टर खोजे । मनेको छोरो छ भनेपछि मण्डलले मनेलाई खबर पठाए । मनेले मेरो घर परिवार कसैको गोठमा जाँदा गाईले दुहुनो दिँदैन भनेर उल्टा खबर पठाए । मण्डललाई पर्नुसम्मको पीर पर्यो । उनी सुर्तामा ओछ्यान लागे। उनले दस वर्षदेखि पालेको गाई बिरामी थियो । साँझमा छोरालाई लिएर मने मण्डलको गोठमा पुग्यो । “सो मण्डल ? अब छोरालाई लिएर गोठमा जाँदा तिम्रो गाईले दुध देला के ?”
मण्डलले केही भन्न सकेनन् । एक घण्टा पछि मण्डलको गाई उठ्यो । मनेले गाईको दाम्लो खुस्काउँदै भक्मिलेलाई भन्यो, “धपा भक्मिले, मण्डलले तेरो गाई अन्याय गरेर उतिबेला लगेको थियो कुलोको पानी मिलाइदिन्छु भन्ने सर्तमा । अब यो गाई तेरो हो राम्रो पाल । अब प्रजातन्त्र हो । यहाँ तँ, म र हामी जस्ता सर्वसाधारणको राज चल्छ ।”
मण्डलले केही बोल्न सकेनन् । मने र भक्मिले भएर गाई डोर्याउन थाले । मण्डलको नजरमा पश्चताप सिवाय अरु केही थिएन । सबै गाउँले मिलेर एका अर्कालाई सहयोग गर्दै खेत रोपनी गरे । मण्डल एक्लै भए । गाउँलेले मण्डललाई गतिलो सबक् दिए ।
– धनराज गिरी
“के तपाईं सत्याको सामना गर्न सक्नुहुन्छ ?”, छोरो आदर्शले पिता प्रोफेसर सज्जननारायण बिन्दासलाई सोध्यो । के सुरमा थियो कुन्नि प्रोफेसर, पुलुक्क छोराको मुखमा पर्यो । छोरो अलि गम्भीर देखियो । साेंच्यो प्रोफेसरले, “किन यो प्रश्न गर्यो आज छोराले ? के कुराले फेरि यसलाई विदुर र मलाई देवव्रत बनायो ?”
बोल्यो, “अरे सुपुत्र, कुलदीपक, आलोचना त अमृत हो, यदि आलोचना गर्ने मानिसको नियत कालो होइन भने,आज यो प्रश्न किन छोरा ?”
“बा, आफू अनुकूल कमेन्ट नहुने बित्तिकै अमित्र गर्ने, ब्लक गर्ने, यस्ता फेसबुके उपब्रुजुकहरूलाई के भन्ने ? फरक मत देख्न नसक्ने ? ल भन्नुहोस्, हजुरलाई जीवनमा कस्को कस्को आलोचनाले सही मार्ग देखायो । मनमा छाप बस्यो ?”
“कहानी चालीस वर्ष अघिको हो छोरा, मेरो जीवनकथा त तिमीहरूलाई थाहा छ । सात कक्षाको गणितको अध्यापन गर्ने क्रममा एक पाका निरीक्षकको आगमन भयो । पुरै कक्षा अवलोकन गरेर अफिसमा आएपछि सम्झाएर भन्नुभयो, बिन्दास सर, मलाई हजुरको ज्ञान र शैली देखेर लोभ लाग्यो । यो उमेरमा यो क्षमता, तपाईं यो क्षेत्रको अब्बल गुरू हुने कुरा पक्का तर,एक कमजोरी, अलि द्रूत गति भया । कमजोर चेलाचेलीले मेसो नपाउने जोखिम हुन्छ, अलि बिस्तारै सिकाए उत्तम !” मानियो । गणितको नतिजा अब्बल रह्यो । छोराछोरीलाई पनि थाहा छ, बा के हो भन्नु पर्दैन ! ती पहिलो देवदूत ! दोस्रो देवदूत बनेर आए एक असल गुरू, साहित्यिक गुरू ! छोरा, यतिखेर मात्र होइन, आलोचना पचाउन नसकेर, आफ्नो अयोग्यता थाहा नभएर, धेरै–धेरै असाहित्यिक पात्रहरू मूर्ख बनेका छन् ।”
उनले अगाडि भन्दै गए, “उही प्रश्नको ट्याग पनि नजानी अङ्ग्रेजी गुरू भए जस्तो । वाह वाह, सबै सक्कली हुन्नन्, कुन ल्याकतको पात्रले वाह वाही गर्यो र किन गर्यो, थाहा पाउनु पर्दछ । तर यहाँ सबै सम, सबै शिरोमणि, सबै देवकोटा र भानु, रदिफ र काफिया मिलाए मोतीराम, गालिब ! मलाई पनि वाह वाहीले एम्बुशमा पारेको नि ! तर एक देवदूत आए जिन्दगीमा । तिमीले चिनेका छौ, म राम, उनी परशुराम, दशरथ, उनै देवदूतले निस्वार्थ पाराले, कत्ति पनि झ्याउ नमानी मलाई साहित्यिक अमृत पिलाउनुभयो । मलाई पनि मेरो अयोग्यता थाहा थियो, तर अति नाम कमाइयो, कमाएको हो, यो सत्य हो ! देवदूतले भनेपछि बेझिझक मैले त्यो पगरी स्वीकार गरेँ, छोरा, म कवि होइन, केही पनि होइन ! हो,एक सफल गणित गुरू र असल र सज्जनहरूको लागि सज्जन र असल पक्का हुँ । मलाई आज पनि ती तीन देवदूतहरूको सम्झना आइरहेछ । म स्वस्थ आलोचना सुन्छु र गर्छु पनि । मनमा घमण्ड र दम्भ हुने अभिशप्त पात्रले मात्र आलोचना नपचाउने हो छोरा ! आलोचना अमृत हो, विदुर वचन हो, गोविन्द गीता हो !”
“नमन पिताश्री, फेसबुक मात्र त्यागे हजुर पनि फरिस्ता हो, गर्व छ हामीलाई हजुरको दोस्रो पुस्ता हुन पाएकोमा !”
यो बाउलाई पनि के घुस खुवाएको, तिमीहरूको मिठो बोली र उज्यालो अनुहार भए म दोब्बर बिन्दास, म बिन्दास,आमा प्रफुल्ल ! आदर्श घामभन्दा पहिले पढ्न थाल्यो । प्रोफेसर बिन्दास गजल लेख्न थाल्यो । तीन देवदूत झलझली दुई नयनमा ।
– बलराम तिमल्सिना
बाजे बिते, बाबु बिते, भोटै हाली हाली
हाम्रो जुनी बित्नै लाग्यो, फोस्रो आस पाली
देखिसक्यौं राम्रोसँग व्यवस्थामै खोट
खोटी व्यवस्थामा हाम्ले किन हाल्ने भोट ?
पहिले यो व्यवस्थालाई जरैबाट ढालौं
समाजको कसिङ्गर जम्मा गरी बालौं
जनताको आफ्नै राज निर्माण गर्न थालौं
हाम्रो राज आएपछि बल्ल भोट हालौं ।
श्रमजीवी जनताको आफ्नो बेग्लै नारा
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
नमस्कार गर्दै ठग आउने छन् ठग्न
हाम्ले हाम्रो कसमलाई दिनु हुन्न डग्न ।
मदिराको भेल बाढीमा हुँदै हुन्न बग्न
झुटो कुरालाई अब दिनु हुन्न तग्न
श्रमजीवी जनताको क्रान्तिकारी नारा–
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
लालसलाम जय नेपाल सबै चोरै चोर
जो चोर छ उसैको छ यहाँ ठूलो स्वर
संसदीय रछ्यानका सबै गुहे कीरा
तिनै कीरा आफूलाई सोच्छन खाट्टी हिरा
मजदुर किसान गरीबको नयाँ साझा नारा–
सिधा कुरा प्रस्ट विचार चुनाव बहिष्कार !
निदाएर हुन्न अब सबै जना उठौं
हिमाल पहाड मधेश जुटौं गाउँ सहर जुटौं
हैन यो देश संसदवादी स्यालहरूको विर्ता
भोट थाप्ने ढ्वाङलाई रित्तै पठाऊँ फिर्ता
निर्माण गरौं हामी मिली क्रान्तिकारी धारा
सिधा कुरा प्रस्ट बिचार चुनाव बहिष्कार !
सतीश पण्डित, तनहुँ
१.
चप्पल पड्काइ हिँड्ने नेता थिए
हेर्नुहोस् त जनतालाई के पो दिए ?
आलोपालो गरि सत्तामा ती पुगी
देशको ढुकुटी नै रित्याइ दिए ।
२.
भर्खरै फेरिएको नयाँ साल छ
नेताभन्दा जनताको बेहाल छ
चुनावमा कस्ता नेता उठ्ने हुन् ?
हेरि छान्ने जन्ताको नै सबाल छ ।
३.
हात जोड्दै जन्ता सामू आउलान् कि ?
भोटसँगै जन्तालाई मासु भात रक्सी खुवाउलान् कि ?
नुनको सोझो गरि आफ्नो भोट त हाल्नै प¥यो के रे !
जब भोट हालेर सकिन्छ तब लात हानेर पठाउलान् कि ?
४.
हाम्रा नेताले जानेका रहेछन् अनेक बात हजुर !
बात मात्र हैन हान्न जानेका रहेछन् लात हजुर !
भित्र एक बाहिर अनेक कुरा गर्ने हाम्रा नेताले
देश र जनतामाथि गर्न जानेका रहेछन् घात हजुर !
५ .
चौबीस लाख खोप हरायो भन्छन्
यस्तो अवस्था कसले गरायो भन्छन्
भनेको सुन्दाखेरि पनि अचम्म लाग्ने
कसरी हरायो भनी मिडिया करायो भन्छन् ।
यश घिमिरे
गरीखान सकेँ भने आफैलाई भाग्यमानी सोचुँला ।
विदेश नै भास्सीन परेमा चाहिँ राहदानी सोचुँला ।।
उ त अजात शत्रु हो मेरो भन्दै हिँडछौ रे तिमी ।
हैसियत बनाऊ पहिले दुश्मनी धक नमानी सोचुँला ।।
अहिल्यै के लेखुँ, जीवन ज्यूँन बल्ल आधी हुँदैछ ।
अझै ठक्कर भोगुँ न त्यसपछि कहानी सोचुँला ।।
चम्केको ढुङ्गा न हो भनेर फाल्यौ भने तिमीले ।
हीरा चिन्न नसक्ने जुहारीको नादानी सोचुँला ।।
करोडको जायजेथा छ भनेर फुर्ती लाउनुहुन्छ है !
भट्टीको उधारो तिर्नुस्, हजुरलाई अम्बानी सोचुँला ।।
हेलाँ गरेको देखेर कत्ती पनि विचलित हुन्न अब ।
पाखुरीमा बोसो लागेको छोराको मनोमानी सोचुँला ।।
यही गजल पनि चोरेर लानेभए लैजाउ ठिकै छ ।
रहेछ खोक्रो ‘यश’को भोक जाग्ने बानी सोचुँला ।।
– दमयन्ती फुयाल, असाम
“यो अलिकति खाउ न सावि”, चम्चामा थोरै जाउलो भात लिएर मानबहादुरले भने । कति प्रयास गर्दा पनि उनले एक चम्चा पनि श्रीमतीलाई खुवाउन सकेनन् ।
“६ दिन भयो ओच्छयानमा लडेकी, खान पनि छोडी । के गर्नु ?”, एक्लै बड्बडाउदै मानबहादुर छटपटिन्छन् ।
कोठामा बुहारी आउँछिन् । “छोडनुस बुबा, म खुवाउँछु ।”
“मुखे खोलदिन के खुवाउछेस ।”
“यो दालको पानी निल्न सजिलो हुन्छ ।” मानबहादुर बाहिर निस्किए ।
शिक्षकबाट अवकाश लिएका अहिले सत्तरी कटेका मानबहादुर खूबै सफा व्यक्तित्वका धनी छन । फुर्सद मिल्दा कविता, कहानी लेख्ने, पढने उनको बानी छ । बूढेसकालको एक्लो जीवनमा किताब जस्तो ठुलो मित्र कोही हुँदैन रहेछ, उनलाई थाहा भयो ।
दुई छोरा र दुई छोरीलाई पढाएर उच्च शिक्षित बनाएर बिहे पनि गरेर उनी आज बाबुको कर्तव्यबाट मुक्त भएका छन । चारै जनाले जागिर पाएर उनको शहर आएर बसेकोमा कृतकार्य बने । शहरमा उनको चौकमै पाँच तल्ले महल छ । तल्लो तलामा उनी कान्छो छोरासँग बस्छन् । अर्को तल्लो ठूलो छोराले राखेर अरू तीन तल्ला छोराहरूले अफिसलाई भाडामा दिएका छन् ।
“ए बा खोई अलिकति ।” मानबहादुरले ठम्याउन नभ्याउँदै हतार हतार भर्याङ चढ्छ ऊ ।
माथिका तल्लामा बस्नेहरूको ओहोर–दोहोर यत्तिकै भइनै रहन्छ । बाहिर निस्कन ठाउँ छैन । त्यो सानो आँगनमा गाडी र मोटरसाइकल सधैँ भरिएका हुन्छन् ।
अघि गाउँमा छँदा खुलामा बसेका मानबहादुरलाई यहाँ बस्न सारै गारो लाग्छ । गाउँमा कुदि कुदि काम गरेका मान्छे आज कोठामा कोचारिएर बस्नु परेको छ । कष्ट गर्नु परेपनि गाउँनै रमाईलो थियो । उनी सम्झिन्छन् बितेका ती पलहरू । परिवारसँग कति रमाईलो हुन्थो एक समयमा .. !
छोरा छोरी पढाउन उनले र सावित्राले कति दुःख सहेका थिए । गाउँमा खेतमा धान, मकै तोरी, मास सबैको खेति गर्थे उनि । वर्षभरीको खोराकि धान, खाने तेल किन्नु पर्दैनथ्यो । गोठमा दुईमाऊ गाई कहिलै टुट्दैनथे । घरका सबैजनाले हातेमालो गरेर आमा सावित्रीलाई सँघाउथे । बिहान सधैँ एकछिनसबैले बारीमा काम गर्नैपथ्र्याे । सावित्री भन्ने गर्थिन, “काम गरेको शरीर मात्रै बलियो हुन्छ ।”
बारीमा, कोदालो चलाउने, वोट–बिरूवा रोप्ने अनि गोडमेल गर्दा गर्दै भोकले भुतुक्कै हुन्थे सबै, र कतिबेला सावित्राले भात खान बोलाउँछे भनेर कान ठाडा पार्थे । अनि बोलाएपछि बल्ल नुहाएर मात्रै खान पाउँथे । अनि खाएपछि आराम । के सारो निन्द्रा लाग्थ्यो त्यतिबेला । मानबहादुर सम्झिन्छन् । यहाँ त किन होला कति प्रयास गर्दा पनि निन्द्रा आउँदैन । न भोक लाग्छ ।
“बूढाबूढी मान्छे त भित्रै बस्नु नि ।” हतार हतारमा हिँड्दै कसैले भन्यो । मानबहादुर लौरो टेक्दै छेऊतिर उभिन्छन एकछिन । आज बृद्धावस्था भएर आफ्नै घरमा सबै हुँदा हुँदै पनि असहाय भएका छन उनी । यत्रो घरमा उनले हिँडनसम्म ठाउँ पाउँदैनन् ।
शहरमा बस्न मन थिएन उनको । अवकाशमा पाएको पैसाले श्रीमतीको भनाइमा यत्रो ‘प्रकाण्डको घर’ बनाएका थिए उनले । छोरा–छोरीले सुख पाउछन् भनेर, कत्ति दुःख गरेका थिए । शहरी हावाले छोएर घरको चारैतिर अग्लो देवाल पनि लगाए । अहिले धमाधम बढेका घरले गर्दा मज्जाले हावासम्म पनि छिर्न पाउँदैन । अग्लो दिवालले र गेटले गर्दा बाटाका मान्छे हेर्न पनि पाइँदैन । सारै न्यास्रो लाग्छ उनलाई !
उमेर छउन्जेल बुद्धि आउँदैन । पछि धेरै अफसोस हुन्छ ।
बुढा–बुढीले सल्लाह गरे यस विषयमा । अब गाउँको घरमा बस्ने भनेर ।
सावित्राको घडघडो दिन दिनै बढन थालो । सर–सल्लाह हुँदा हुँदै झगड़ा पनि भयो, तर अरूले नसुन्नेगरी ।
“तेरै करले त आउनु परेको हो नि त शहर..!”
“त्यतिबेला छोराहरूलाई पढाउन, जागिर गराउन भनेर आइयो । अब बुढा, म सक्दिन यहाँ बस्न । यहाँ, कोसँग बोलेर बस्नु ?” श्रीमतीको कुरा बुझेका छन् उनले ।
उमेर भएसी छोरा वा छोरी कोइ त सहारा चाहिन्छ ।
आफ्नो मनको पीडा छोरासितसुनाउन प्रयास गरेका पनि थिए उनले ।
“ठूले, अब बुढेस काल भो गाउँतिर जानपर्छ । यहाँ धेरै भिडभाड भो । बाहिर हिँडडूल गर्नसम्म पाइँदैन । तो गाउँको घरको पनि हेरचाह हुन्छ । तेरा छोरा छोरीको पढाइ पनि सकिन्छ अब ।”
“कहाँ सकिनु बा । अझै दुई बर्ष पढ्न छ । मेरो पनि अवकाशलाई पाँच वर्ष छ । पछि जाउँला । यहाँ के पो गाह्रो छ र हजुरलाई ?”
अब कसरी भन्नु ? उनलाई सास फेर्न ..गाह्रो छ भनेर । सबै....काम कामका मान्छे । बोल्ने कोही छैनन् । घर त छ, तर खुशी छैन । एक –आपसमा माया छैन । सबै मेसिन बनेका छन ! पैसा कमाउने मसिन ! ठूलोछोरासँग कुरा मिलेन र कान्छो छोरालाई भनेका थिए एकदिन सावित्राको करकरमा ।
“यहाँ त मर्दा पनि कसैले थाहाँ पाउँदैनन् । अब त साथी, आफन्तहरू चाहिन्छन् । गाउँको घरमै लैजा अब हामीलाई । आमा भनेर थाकिसकि । उहाँ भए कति भेट गर्ने आउँथे होला । छरछिमेकीसँग बोलेर पनि भुल्ने थियौं ।”
“बा, छोरा छोरीको पढाइ छ । मेरो जागिर छ । भन्नेबित्तिकै कहाँ मिल्छ जान ?”
सावित्रा सधैँ सोधछिन्, “कुरा गर्नु भो ?”
“हेर बुढी, यो उमेरमा बिना साहारा हामी बस्न सक्तिनौ । उनीहरूको अहिले सोच्नेसम्म समय छैन ।”
बुढाको कुरामा चित्त नबुझेर सावित्राले आँफै कान्छो छोरालाई भन्छिन्, “कान्छा, मर्न चै गाउँमै पुग्न पाए हुन्थो । कोही साथी मिलाएर हामीलाई गाउँमा बस्न मिलाई दिए हुन्थो ।”
“यहाँ चैँ के भयेको छ र ? किन गाउँ गाउँ भन्नुहुन्छ सधै ?”, निकै ठूलो स्वर निस्कियो छोराको मुखबाट...! बुहारी नाती कुदेर आए । त्यसमा थोरै बुहारीले कुरा थपिन । थोरै नातीले । सावित्रा चुप भइन ।
त्यसदिनदेखि सावित्राले सोध्न छोडिन् । विस्तारै मौन बस्न थालिन् । खान छोडिन् । अनि आज यो स्थिति मा पुगिन् ।
मनबहादुर दुःखी छन्, आज । लौरो टेकेर कोठामा ओहोर दोहोर गर्दै छन् । यता सावित्राको चटपट छैन । उ बाहिर निस्किन खोज्दै सानो छोराले भनेको सम्झिए, “भित्रै बस्नु नि बा । डिस्टर्ब हुन्छ आउने जानेलाई ।”
अनि पत्नीको छेउमा बसेर भने, “सावि सुनिस’,मैले ठूलेलाई भने नि गाउँ जाने कुरा ।”, कानको छेउमा कराएर बोले उनले ।
पिलिक्क आँखा उघारेर हेरिन पत्नीले । उनको आँखामा आशाका लहर देखे उनले ।
“अब उसको अवकाश लिन पाँच वर्ष मात्रै छ । मैले सबै कुरा गरे । तँ आँट नमार । पाँच वर्ष भनेको त फुस्सै बित्छ । अनि हामी गाउँ जाँउला । गाउँ गए पछि त सबै भेट्न आउँछन् हामीलाई नि !”
पत्नीले आँखा फेरि चिम्लिन ।
मानबहादुर त्यही धेरैबेरसम्म बसिरहे ।
साविको केही हलचल छैन । के हो ?
“सावि ! ओई सावि ! यता हेर न । म सित बोल न ।”
मनबहादुरले पत्नीको हाथ छामे । नाडी छामे ।
“नाडी चलेको भान हुँदैन त ! छाती पनि चलेको छैन त...! किन... ? कान्छो...! ए कान्छो...!”, थरथराउदै मानबाहादूर पुगे ढोकासम्म । फेरि कराए, “ठूले ! ए ठूले !...ए कान्छो... ए बुहारी...!”
फेरी फर्किए पत्नीको छेउमा र शरीरको समस्त शक्ति बटुलेर चिच्चाए, “ए सावि बोल न । मलाइ एक्लै नपार । तँ बिना म कसरी बस्नु ?” बुढीलाई अँगालेर रोए । परिवारका कसैले उनले रोएको देखेनन् ।
छोराहरू आउँदा आउँदै उनको अनुहारको भाव बदलिएको थियो । उनलाई थाहा भयो, उनको पनि पछिको हाल यही हुने छ !
रेशम अधिकारी/मध्यान्ह
रूपन्देही : बाल्यकालमा विद्यालयको भित्ता कोरिएको चित्र देख्दा मनमा चित्रकार बन्ने सपना सजाएका रूपन्देही देवदह नगरपालिका–७ का निश्चल सुवेदी १५ वर्षकै उमेरमा चित्र कोर्नमा माहिर बने । देवदहस्थित केरवानी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत निश्चल विद्यालय बिदा हुनासाथ चित्र कोर्नमै व्यस्त रहन्छन् । भविष्यमा शिक्षक र क्रिकेटर बन्ने सपना बोकेका सुबेदीको हातमा पेन्सिल पर्न साथ ड्रोइङ कोरिन्छ । उनी निकै मिहिनेत गरेर चित्र तयार पार्छन् ।
दुई सन्तानमध्येका कान्छा निश्चल आफ्ना सिर्जनामा अक्सर पृथ्वी, स्मार्ट सिटी, वातावरण, खोलानाला, हिमाल, पहाड प्रकृतिलाई झल्काउँछन् । जनावर र चर्चित व्यक्तिका चेहरालाई रंगहरु भरेर उतार्छन् । निश्चल भन्छन्, “चित्रले यथार्थ झल्काउँछ, चित्रमा कोरिए जस्तै हाम्रो सुन्दर वातावरणलाई देश विदेशमा झल्काउन जरुरी छ ।”
उनी अगाडि थप्छन्, “म अहिले नै चित्रकलामा माहिर नै त् छैन सिक्ने त्रम जारी नै छ ।”
सुबेदीले चित्र सेतो पानामा उतार्नभन्दा पहिला आफ्नो मस्तिष्कको कल्पनामा चित्र कोर्छन् यसो गर्दा उनमा चित्र बनाउन मद्दत हुने उनले बताए । “कुनै विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना भयो भने केरवानी माविबाट सुवेदी प्रतियोगी हुन जाने लगभग पक्का नै हुन्छ”, शिक्षक कृष्ण न्यौपानेले भने । “कलिलो उमेरमा निश्चलको चित्रकलाप्रतिको मोह र कला तारिफ योग्य छ यदि यसैलाई निरन्तरता दिने हो भने उ पक्का सफल हुन्छ ।”
कोरोना महामारीको विषयमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता नेपाल रेडक्रस सोसाइटीले आयोजन ग¥यो उनी जिल्लाभरिका विद्यार्थी मध्ये चौथो स्थान हासिल गरे उनले भन्छन्, “सधैँ प्रथम मात्र हुँदिन कहिले दृतीय कहिले तृतीय र कहिले चौथो हुने गर्छु तर, आजसम्म खाली हात चै आउनु परेको छैन यसैमा खुशी लाग्छ ।”
हालसम्म दर्जन बढी प्रतियोगितामा भाग लिइसकेका निश्चलले केही बाहेक सबै चित्रकला प्रतियोगितामा पुरस्कार थापेको सुनाए । भन्छन्, “पुरस्कारको लागि भन्दापनि अरुलाई कला देखाउन पाउँदा खुशी लाग्छ ।” उनले जितेका पदक र प्रमाण पत्रले घरको कोठामा सजाएको छन् ।
उनको सिर्जना देखेर धेरै जना चकित बनेको र उनी पढाईमा समेत राम्रो नतिजा ल्यायोको सुबेदीका बुबा आनन्दा सुबेदीले भने, “छोराको चित्रकला प्रतिको लगाब देखेर हामी खुशी छौं उसलाई चाहिने सहयोग र साथ दिएको छौँ, चित्रकलामा यही गतिमा लागेर आफ्नो र परिवारको नाम चिनाउन सके हामी यसैमा खुशी छौ ।”
यस्तै विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त आचार्य भन्छन्, “यसरी निश्चलले अवसर पाउँदै गएमा सविनले देवदह र आफ्नो विद्यालयको नाम राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सफल हुुन्छन् ।”
कस्तुरीले आफ्नो नाइँटोमा भएको सुगन्ध पहिचान गर्न नसकेर जिन्दगीभर त्यो सुगन्धको खोजीमा भौतारिन्छ हो त्यस्तै करोडौँ कस्तुरी हामी माज छौ जो आफुभित्रको कलालाई पहिचान गर्न नासकी पछि परिरहेको छौँ । हरेक मानिसमा जन्मदा नै एउटा कला हुन्छ, उसले त्यो कलालाई चिनेर अघि बढ्ने हो भने पक्का सफल हुन्छ । निश्चलले जस्तै आफुभित्र भएको चित्रकलाको कलालाई चिनेर अघि बढे भने पक्का सफलता चुम्न सकिन्छ ।
– बलराम तिमल्सिना
तिमीले देशको व्यापार गर्यौ
मैँले देहको व्यापार गरेँ
तिमीले रमाइरमाई देश बेच्यौ
मैँले रोइरोई शरीर बेचेँ
यसरी तिमी गद्दार भयौ
र म यसरी वेश्या भएँ ।
फरक कति छ भने–
तिमीलाई पुलिसले पहरा दिन्छ
मलाई पुलिसले लखेट्छ ।
देश बेचेको रात
तिमी आएका थियौ मेरो कोठामा
(त्यसो त थुप्रै ‘कमरेडहरू’ पनि आउँछन्)
मलाई भोगेका थियौ तिमीले
र हिँड्ने बेलामा
टिप्स भनेर अतिरिक्त पैसा दिएका थियौ
मैँले तिरस्कार पूर्वक थुक्दै पैसा फालेकी थिएँ
र भनेकी थिएँ–
मेरो देश र मेरी आमा एकै हुन्
आमा बेचेको पैसा मलाई चाहिँदैन
म बूढी आमालाई पाल्न देह बेच्दै छु ।
हिजो सँगै लडेको हो हामीले
मुक्तिको समर
सँगै गाएका हौँ झञ्झावातको गीत
सँगै रोएका हौँ कैयन पटक
र सँगै हाँसेका हौँ हामी
हामी दुवै कमरेड थियौँ हिजो ।
बिसाएपछि बन्दुक
फुकाले पछि फौजी पोशाक
बदलेपछि आफ्नो बाटो
र हिँडेपछि दुश्मन हिँड्ने बाटो
तिमी देश बेचुवा गद्दार बन्यौ अचेल
र म वेश्या बन्न पुगेँ ।
बाटो र विचारसँगै बदलिएका कमरेडहरू
गद्दारीमा गौरव गर्छन् अचेल
र मेरो जिन्दगीलाई हेला गर्छन्
ती अझै पनि भन्ने गर्छन्
‘हाम्रो महान तथा गौरवशाली पार्टी..!’
म सोचिरहेछु अचेल–
गद्दार हुनु र वेश्या हुनु कुन खराब हो ?
देश बेच्नु र शरीर बेच्नु कुन खतरनाक हो ?
तिमीहरूले जस्तो
निर्लज्जता पूर्वक
मैँले कहिले पनि भनेकी छैन–
“मेरो महान तथा गौरवशाली देह व्यापार !”
तिमीहरूलाई
गद्दारी गौरवशाली लाग्छ
आत्मसमर्पण आत्मीय
र विचलनमा रोमाञ्चकता प्राप्त हुन्छ
सपनाहरूको चिहानमाथि
ताण्डव नाच्दै छौ तिमीहरू
म भने देश सम्झिरहेकी हुन्छु
मेरो शरीरसँग
कोही जिस्किरहेको समयमा समेत ।
भन ए गद्दार ‘कमरेड’हरू
तिमीहरू र म को बढी खराब ?
– पबित्रा चाम्लिङ, खोटाङ
१.
परदेशमा बुबाले रगत र पसिना, बगाएर कमाको छ
सन्तान यता सुख र सुबिधा बीचमा, बसेर रमाको छ
खै ! कस्ले बुझ्छ दर्द पीडा, हेर्दा देख्छ आनन्द क्रीडा
कति समस्या त आमाले नै, सकि नसकि थमाको छ ।
२.
अब कसरी पस्केर खान्छौ, पन्यौ भुइँमा खस्यो भने
माहुरीको घारमा अरिङाल गोला, आएर पस्यो भने
उपचार चाहिँ गर्दै गर्नु, तर ढुक्क भर भने पर्दै नपर्नु
पुनर्जिवन पाउँदैन भन्छन्, गोमन साँपले डस्यो भने ।
३.
गरिब मान्छेलाई कहिल्यै तिमीले, दिन्छु नभन्नु
पबित्र प्रेमलाई रुपैयाँ र पैसामा, किन्छु नभन्नु
जून बन शितल दिन, लोभी बन्छौ आज किन
तन बन्धक राख्न लगाई, फाइदा लिन्छु नभन्नु ।
४.
मलाई छोडेर जाने भएपछि, सुटुक्क जाँदा हुन्थ्यो
तिमीले दिएको सिन्दुर पोते, साथैमा लाँदा हुन्थ्यो
यदि तिमीले बुझ्थ्यौ भने, मनले ईश्वर पुज्थ्यौ भने
अग्नि साच्छि राखेर, झुटो कसम नखाँदा हुन्थ्यो ।
५.
पुर्खाहरूले जहाँ टेक्यो त्यही, माटोको माया लाग्छ
झोर र जंगल फाँड्दै हिँडेको, बाटोको माया लाग्छ
दौरासँगै चौबन्दी फाटे पनि, सहरमा सुख काटेपनि
झाले र माले गोरुलाई जोत्ने, पाटोको माया लाग्छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies