२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

सहमतिको आधारमा जग्गा एकीकरणको कामलाई तीव्रता दिन निर्देशन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर २ गते १७:४०
सहमतिको आधारमा जग्गा एकीकरणको कामलाई तीव्रता दिन निर्देशन

भालुवाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिएका छन् । जग्गा एकीकरण आयोजना सञ्चालन समितिको अध्यक्षको शपथ ग्रहणपश्चात भएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरण आयोजनालाई जग्गाधनीको सहमतिको आधारमा तीव्रता दिन निर्देशन दिएका हुन् ।

‘यो महत्वपूर्ण जिम्मेवारी हो । फिल्डमा सहमति जुटाउने कामलाई तपाईंहरुले अघि बढाउनुहोस् । स्रोत साधन जुटाउने काममा हामी जुट्छौं,’ मुख्यमन्त्री आचार्यले भने, ‘नदी सभ्यतामा आधारित राजधानी शहर बनाउने परिकल्पना सरकारको छ । यही परिकल्पनालाई साकार बनाउने महत्वपूर्ण जिम्मेवारी छ ।’

जग्गा एकीकरण आयोजनाको कामलाई विवादरहित ठाउँबाट अघि बढाउन र त्यसलाई नमुनाको रूपमा प्रस्तुत गर्न मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘हामी राजधानी शहर निर्माणका लागि साधन स्रोतको खोजीमा जुटेका छौं, तपाईंहरु समुदायस्तरको काममा लाग्नुहोस्,’ मुख्यमन्त्री आचार्यले भने, ‘सबैलाई समन्वय र सहकार्य गरेर कामलाई अघि बढाउन जरुरी छ ।’

जग्गा एकीकरण आयोजना संचालन समितिको अध्यक्ष नियुक्त भएका राप्ती गाउँपालिका– १ निवासी सुशीलकुमार बस्नेतलाई मुख्यमन्त्री आचार्यले शपथ ग्रहण गराएका हुन् । कात्तिक १२ गते बसेको पूर्वाधार विकास समितिको २१औं बैठकले बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको थियो । 

राजधानी शहर निर्माणका लागि २० वर्षे योजना निर्माण गरिएको छ । जुन योजना कार्यान्वयन गर्न एक खर्ब बढी बजेट लाग्ने अनुमान छ । पाँच वर्षका लागि २५ अर्ब लगानीको खोजीमा प्रदेश सरकार जुटेको छ । लगानी सुनिश्चित गरेर हरित र सुविधा सम्पन्न शहर निर्माणको योजना बनाइएको छ । जसका लागि प्रदेश सरकारले विदेशी दातृ निकायसँग पहल गरिरहेको छ । 

२०७७ असोज २० गते बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय पारित गरेको थियो । राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३, शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई राजधानी क्षेत्रभित्र समेटिएको थियो ।

राजधानी क्षेत्रभित्रको १२ हजार बिगाह जग्गामध्ये यस वर्ष एक हजार बिगाह जग्गालाई एकीकरण योजनाभित्र राखिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए । उनका अनुसार १४ ब्लक निर्माण गरिएको छ । पहिलो चरणमा तीन वटा ब्लकबाट जग्गा एकीकरणको काम अघि बढाउने योजना छ ।

ADVADV

सम्बन्धित खबर

Advertise