२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कटहरिया नगरपालिकाले ल्यायो ४६ करोड ६२ लाखको बजेट, कृषि क्षेत्र विशेष प्राथमिकतामा

ADV
कृष्ण तिवारी
२०८१ असार ५ गते १४:३७
कटहरिया नगरपालिकाले ल्यायो ४६ करोड ६२ लाखको बजेट, कृषि क्षेत्र विशेष प्राथमिकतामा

रौतहट : रौतहटको कटहरिया नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

नगरपालिकाको बुधबार सम्पन्न नगर सभा तथा १०औं अधिवेशनमा नगर प्रमुख अजय प्रकाश जयसवालले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए । साथै नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विद्युत, भौतिक पूर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृतिलगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख जयसवालले कृषिको विकासका लागि पालिकाभित्र कृषियोग्य भूमिमा नियमित सिँचाइ गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, सिमसारलगायत क्षेत्रमा पानीको मुहान संरक्षण, भूमिगत जलभण्डार स्थिर राख्नुका साथै पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गरी नगरवासीको आर्थिकस्तर उकास्ने गरी बजेट ल्याइएको बताए ।

नगर क्षेत्रमा निर्माण भएका जलाशयमा निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय सञ्चालन गरिने र कृषि उत्पादन एवम् उत्पादकत्व बढाउन बहुउद्देश्यीय जलाशय निर्माण गरिने भएको छ । नगरप्रमुख जयसवालले नगर सभामा उत्पादनको आधारमा विभिन्न वडालाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरिने उल्लेख गरे । बाँझो तथा उपयोगविहीन जमिनलाई कृषि उत्पादन कार्यमा उपयोग गर्न तथा करार खेतीलाई प्रोत्साहन गर्न भूमि बैंकको अवधारणा कार्यान्वयन गरिने नगरप्रमुख जयसवालले बताए ।

यस्तै पर्यटन तथा संस्कृति प्रवर्द्धनका लागि कला, साहित्य, संस्कृतिको संरक्षणका साथै अध्ययन अनुसन्धानमा जोड दिइने भएको छ । पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न डिजिटल प्रविधिको प्रयोगमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कमलरी, शारीरिकरूपमा अशक्त, एकल महिला परिवारलाई लक्षित गरी कृषि तथा गैरकृषिसम्बन्धी आयमूलक सीप सिकाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकालाई वातावरणमैत्री बनाउनका लागि धुँवारहित घोषणा गर्ने, नगर क्षेत्रको विकास तथा स्थानीयस्तरमा रोजगारी सिर्जनाका लागि लघु, घरेलु तथा साना उद्योग, कृषि र पशुपालनमा जोड दिइने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु, स्थानीय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise