अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आफैं बिउ उत्पादन गरी नगरपालिकाका किसानहरुलाई वितरण गर्दै आएको छ । नगरपालिकाले अन्य जिल्लाहरुमा समेत बिउ आपूर्ति गर्न शुरु गरेको छ । धेरै स्थानीय पालिकाहरुको मातहतमा रहेका कृषि शाखाहरुले भने बाहिरी जिल्लाबाट बिउ खरिद गरी ल्याउने र किसानलाई वितरण गर्ने गरेका छन् ।
तर भूमिकास्थान नगरपालिकाले गत वर्षदेखि बिउ उत्पादन गरी पालिकाभित्र र अन्य पालिका जिल्ला बाहिर बिक्रीवितरण गर्ने गरी उत्पादन गर्न थालेको हो । अहिले भूमिकास्थान नगरपालिकाले पहिलो पटक ठुलो मात्रामा आफैँले नगरपालिकाका विभिन्न ठाउँमा भाडामा लिएको जग्गामा प्याजको बिरुवा, अक्कबरे खुर्सानीको बिरुवा, मकै, धान, गहुँ उत्पादन गरी बिउ बनाएर बिक्रीवितरण अभियान शुरु गरेको हो । अब नगरपालिकाले कर्मशियल जनशक्ति परीचालन गरी बाँझो खेतवारी लिजमा लिएर मकै, गहुँ, धान प्याज, खुर्सानी, घिरौला लगायत सिजन अनुसारको तरकारी फलफुलहरुको बिउ किसानको माग अनुसार वितरण गर्न शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए ।
अधिकृत नेपालीले भने, ‘अहिले हामिले मकै, धान, गहुँ, प्याज, खुर्सानी, काक्रो, घिरौला लगायतका सिजन अनुसारका बिउहरु नगरपालिकाका सबै किसानलाई आफैँ उत्पादन गरेको हाईब्रेट बिउ वितरण शुरु गरेका छौं ।’ अब गहुँ,मकै धानसहितका तरकारी फलफूलको बिउ उत्पादन गर्नका लागि पनि जग्गा लिजमा लिएर उत्पादन गर्ने तयारी गरेकोले अब अन्य पालिकामा समेत भूमिकास्थान नगरपालिकाले बिउबिरुवा बिक्री गर्ने तयारी गरेको नेपालीले जानकारी दिए ।
यसअघि मकै, धान, गहुँको मूल बिउ कृषि अनुसन्धान केन्द्र भैरहवाबाट खरिद गरी भूमिकास्थान नगरपालिकाकामा ल्याइ ५० प्रतिशत र ७५ प्रतिशत अनुदानमा किसानलाई वितरण गर्ने गरिएकोमा अहिले वडा नम्बर ९ को ढिकुरा चरेपानी वडा नम्बर १० को धनचौर, धाकावाङ, असुरकोट लगायतका ठाउँमा मकै, धान लगाई त्यहाँबाट उन्नत जातको बिउ उत्पादन भएपछि अन्यपालिकालाई वितरण गर्ने तयारी गरिएको नगरप्रमुख झबिलाल थापाले बताए ।
मागमा आधारित उत्पादनमा आधारित बिउ कृषकलाई उपलब्ध गराउने थापाको भनाइ छ । अहिले पहिलो, दोस्रो वर्ष, पहिलो वर्ष भन्दा निकै राम्रो उत्पादन भएको किसानको माग पूर्ति गर्न गत वर्ष नसकेपनि यस वर्ष बिउ माग अनुसार उत्पादन भएको थापाले दाबी गरे ।
मनकामना– ३ रामपुरकम्पोजिट नामक मकैको झन्डै १ सय ५ कुइन्टल बिउ आउने वर्षका लागि उत्पादन गरी वितरण गर्ने गरी अहिले नगरपालिकाले १२ जना कर्मसियल परिचालन गरी रोजगारी सिर्जना गरिएको नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले बताए । अहिले नगरपालिकाले राखेको कर्मसियल जनशक्ति मकै, धान, गहुँको बिउ तयारीका लागि खटाएको छ भने उनीहरुलाई दैनिक ६ सय रुपैयाँ ज्याला नगरपालिकाले उपलब्ध गराउने गरेको नगरपालिकाका योजना अधिकृत हरिषचन्द्र भुसालले जानकारी दिए ।
यस्तै १४ हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाएको सुक्खा ३ र सुक्खा ६ धानको बिउ निकै राम्रो उत्पादन भएको छ । ठाउँठाउँमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको समयमा भूमिकास्थान नगरपालिकाले लगाएको मकै धान खेति निकै राम्रो देखिएको नगरपालिकाका अधिकृत शेषकान्त घिमिरेले बताए ।
नगरपालिकाले काक्रो, सिमी, बोडि लगायत बेमौसमी तरकारिका बिरुवा नगरपालिकाको भवन पछाडि उत्पादन गरी गत वर्षदेखि नगरपालिकाबासिलाई बिक्रीवितरण गर्ने गरेको छ ।
भूमिकास्थान नगरपालिकाबाट अर्घाखाँचीका सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकालाई बिउ बिक्रीवितरण गर्ने नगरपालिकाले तयारी गरेको नगरपालिकाका कृषिशाखा प्रमुख बताउँछन् ।
बर्सेनी बिउमा मात्र लाखौँ रुपैयाँ खर्च गर्दै आएको भूमिकास्थान नगरपालिकाले गत वर्षदेखि बिउ उत्पादनमा आत्मनिर्भर भइ जिल्लाका सबै पालिका र बाहिर जिल्लामा समेत निर्यात गर्दा आर्थिकपार्जन मात्र होइन, जिल्लामा कृषि क्षेत्रमा समेत फड्को मारेको छ ।