२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कनकासुन्दरी गाउँपालिकाद्वारा बजेटका लागि सुझाव संकलन

ADV
मध्यान्ह
२०८१ असार ५ गते १७:३२
कनकासुन्दरी गाउँपालिकाद्वारा बजेटका लागि सुझाव संकलन

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि सुझाव संकलन थालेको छ । गाउँपालिकाले पालिका स्तरका सरोकारवाला निकायहरुलाई एकै स्थानमा बोलाएर सुझाव संकलन माग गरेको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र बहादुर भण्डारीले जानकारी दिए  । उनका अनुसार पालिकाको विकासका लागि यहाँका राजनीतिक दल, नागरिक अगुवा, बुद्धिजीवीलगायत सरोकारवालाहरुसँग छलफल गरेर सुझाव मागिएको हो ।

सुझाव संकलन कार्यक्रममा साविक जिल्ला विकास समितिका उपसभापति गौरीलाल न्यौपानेले वातावरणीय प्रभाव मूल्यांकन गरेर सडक तथा भौतिक संरचना निर्माण गर्न सुझाव दिए । उनले सिंजा सभ्यताका जगेर्ना गर्दै सामुदायिक लाभ लिने योजना छनोट गर्न अनुरोध गरे । 

पूर्वगाउँपालिका उपाध्यक्ष उर्मिला खत्रीले घरेलु हिंसा न्यूनीकरण गर्न, महिलाहरुको आश्रयकेन्द्र स्थापना गर्न सुझाव दिइन् । तत्कालीन गाविसका पूर्वअध्यक्ष रणबहादुर रोकायाले स्थानीय किसानलाई अनुदान प्रदान गर्न र स्थानीय उत्पादनमा लगानी गर्न सुझाव दिए ।

त्यस्तै पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीले जिल्लाको सञ्चार क्षेत्रको प्रवर्द्धन गर्ने बजेटमा जोड दिनुपर्ने बताइन् । उनले लागुऔषध नियन्त्रण, यौन दुर्व्यवहारका घटना नियन्त्रण, महिला सशक्तीकरणलगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा ल्याउन सुझाव दिइन् । 

स्थानीय धनलक्ष्मी तिवारीले पालिकाले दिने योजनाहरुको प्रभावकारी कार्यान्वयन नभएको गुनासो पोखिन् । योजनाहरुको उपभोक्ता समिति गठन हुँदा राजनीतिक भागबण्डा हुने कार्यको अन्त्य गर्नुपर्ने उनले सुझाव दिइन्  । 

गाउँपालिकाको आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटका लागि सर्वपक्षीय सुझाव संकलन गरिएको कार्यक्रममा राजनैतिक दल, सामाजिक क्षेत्रका व्यक्तिदेखि अगुवा व्यक्तिहरुले सुझाव दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष दमोदर प्रसाद आचार्यले हरेक वर्ष बजेट ल्याउनुभन्दा पहिले यहाँका सरोकारवालासँग सुझाव संकलन गर्ने गरिएको बताए । उनका अनुसार सरोकारवालासँगको अन्तरक्रियापछि विषयगत शाखामा पनि यस्ता सुझाव संकलन गरिनेछ । उनले कनकासुन्दरी गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय सरकारले एक्लै नसक्ने भन्दै सबैसँग सहकार्य  गरेर जाने प्रतिबद्धता व्यक्त गरे । 

गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले सरोकारवाला निकायले दिएका राम्रा सुझाव ग्रहण गरिने बताइन् । उनले कनकासुन्दरीको सोचेअनुसारको विकासका लागि सवैको सहकार्य र सहयोग आवश्यक रहेको बताइन् । प्रमुख प्रशसकीय अधिकृत दीपेन्द्र बहादुर भण्डारीका अनुसार यहाँको विकासका लागि आवश्यकताका आधार बजेट ल्याउन अन्तरक्रिया  कार्यक्रम गरिएको हो । उनले जनस्तरबाट आएका सुझाव ग्रहण गरी पालिकाले बजेट बनाउने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise