देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्विट्जरल्याण्डकी राजदूत डानियल मेउल्लीले भेटवार्ता गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय देउखुरीमा शुक्रबार बिहान भएको भेटवार्तामा लुम्बिनी प्रदेशकाे विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयाेगका बारेमा छलफल भएको मुख्यमन्त्री चेतनारायण आचर्यले जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले प्रदेश आत्मनिर्भर हुने चरणमा रहेकाले याे अवधिमा दातृ निकायहरुकाे साथ सहयाेग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रकाे विकासमा सहयाेग आवश्यक परेकाले सहयोग गर्न अनुरोध गरिएको बताए । 'प्रदेश स्थापना भएर कार्यान्वयनमा आएकाे भर्खरै ७ वर्ष भएको छ । प्रदेश आत्मनिर्भरताकाे बाटाेमा छ । सबै प्रकारकाे साथ सहयाेग जरुरी छ,' उनले भने, 'स्वीस सरकारले गर्दै आएकाे सहयाेगलाई प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झाेलुंगे पुल निर्माण, पक्की पुल निर्माण हाेस् । प्राविधिक सहयाेगलाई अझै निरन्तरता दिन आवश्यक छ ।'
लुम्बिनी प्रदेशभित्र मानसिक स्वास्थ्य, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको उनले जानकारी गराएका थिए । यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेकाे र अब त्यसलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराए ।
हाल स्वीस सरकारकाे सहयाेगमा बर्दिया जिल्लामा मात्रै मानसिक स्वास्थ्य तथा मनाेसामाजिक सेवा कार्यक्रम लागू भएको छ । याे कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरे ।
मुख्यमन्त्री आचार्यले राखेकाे प्रस्तावप्रति राजदूत मेउल्लीले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए । प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक सेवा रणनीतिक याेजना निर्माण गरेकाेमा राजदूत मेउल्लीले बधाई दिइन् ।
भेटमा राजदूतसँगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बासकाेटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महत, प्रादेशिक संयाेजक हिमाल गैरेलगायतको सहभागिता रहेको थियो ।