काठमाडौं : फ्रान्समा गोरखाली समाज फ्रान्सले 'नेपाल भ्रमण वर्ष २०२०'को प्रचार प्रसार गरेको छ । सन् २०२० को पहिलो दिन जनवरी १ तारिखमा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीको प्रमुख अथित्यतामा समाजले भ्रमण वर्षको प्रचार प्रसार गरेको हो ।
साथै सोही दिन ‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ ७ औं नेपाली टोपी दिवस समेत मनाइएको थियो । नेपाल लगायत विश्वभर नेपालीहरुले टोपी दिवस मनाइरहँदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका थिए ।
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएसँगै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान सहित कार्यक्रममा उपस्थित सम्पूर्णलाई करिब ३०० वटा पर्चा वितरण गरिएको थियो ।
आगन्तुक पर्यटकहरुले पनि प्लेकार्डसहित नेपाली सस्कृतिको बारेमा उत्सुक हुँदै कार्यक्रममा सहभागिता जनाएका थिए । नेपाल चिनाउन र चिसो मौसममा बाडिएको नेपाली तातो चियाले पनि स्थलमा उपस्थित फ्रेन्च र पर्यटनलाई थप आकर्षण गरेको थियो ।
उक्त कार्यक्रममा उप-प्रमुख नियोग खड्ग प्रसाद दाहाल, नेपाली साँस्कृतिक गृहका सुरज श्रेष्ठ, मगर समाज फ्रान्सका अध्यक्ष रमेश थापा, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एन. आर. एन. ए. युवा संयोजक दिलिप गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान, सस्कृति तथा सद्भावना दूत एन. आर. एन. ए. फ्रान्सका पुर्व अध्यक्ष एवं समाजका सल्लाहकार निर्मल अर्याल, एन. आर. एन. ए. फ़्रान्सका संस्थापक अध्यक्ष एवं गोरखाली समाज फ्रान्सका अभिभावक हरिहर अर्याल, भुतपुर्व एन. आर. एन. ए. आई. सी. सी. मिन जि सी लगायत अन्य अतिथि महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोही क्रममा बोल्दै गोरखाली समाज फ्रान्सका अभिभावक एवं एन आर एन ए फ्रान्सका सस्थापक हरिहर अर्यालद्वारा नेपाली टोपीको बारेमा नेपाली इतिहास र टोपीको महत्वको बारेमा जानकारी दिएका थिए ।
साथै एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष एवं गोर्खाली समाजका सल्लाहकार निर्मल अर्यालले फ़्रेन्च भाषामा नेपाली ढाका टोपी र टोपी दिवसको महत्वका बारेमा प्रस्ट पार्दै नेपाल भ्रमण वर्ष २०२० लाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गरे ।
त्यसैगरी, सास्कृतिक मन्च गोरखाली समाज फ्रान्सका संयोजक एवं कवी सुजन राज भट्टले टोपी शीर्षकमा आफ्नो कविता वाचन गरेका थिए ।
छोटो समयमा तयार गरीएको कार्यक्रम भएपनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति भएका थिए । उक्त कार्यक्रममा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उद्देश्यका साथ नेपालीहरु उस्तै पहिरनका साथमा उपस्थित थिए । गोर्खाली समाज फ्रान्सका महासचिव राजेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले सम्पूर्ण आगन्तुकहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies