२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

मलेसियामा पेट्रोल स्टेसनमा विदेशी कामदार खुला

ADV
तिलोचन गौतम
२०८१ मंसिर ९ गते ०६:३०
मलेसियामा पेट्रोल स्टेसनमा विदेशी कामदार खुला

क्वालालम्पुर : मलेसिया सरकारले पेट्रोल पम्प संचालकहरूलाई पेट्रोल पम्पका क्याफे तथा पसलहरूमा सरसफाइ र मर्मत सम्भारको काममा विदेशी कामदारहरूलाई काम गर्न अनुमति दिने निर्णय गरेको छ ।

गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले स्वीकृत विदेशी कामदार कोटामा भित्रै रहनेगरी उक्त सहमति दिएको बताएका छन् । सन् १९९५ मा मलेसिया सरकारले मलेसियाका पेट्रोल स्टेसनहरूमा विदेशी कामदारहरूलाई काममा राख्न निषेध गरेको थियो । पेट्रोल स्टेसनहरूले क्याफे, पसल र अन्य सेवाहरू सुरुवात गरेकाले उक्त क्षेत्रको वास्तविकतालाई महसुस गरि नयाँ निर्णय भएको गृहमन्त्री सैफुद्दिले बताए । दक्ष कामदारले काम गर्ने पेट्रोल स्टेसनहरूले प्राविधिक जनशक्तिलाई आकर्षक तलब दिने गरेका छन् । अन्यत्र मासिक न्यूनतम १५ सय रिंगेट तलव भए पनि पेट्रोल स्टेसनमा काम गर्ने कामदारको तलब २ हजार ३१० रिंगेट छ ।

मलेसियामा विदेशी कामदारको नयाँ भर्ना र व्यवस्थापन सम्बन्धमा गृहमन्त्री र मानव संशाधनमन्त्रीबीच निरन्तर छलफल भइरहेको छ । मानव संशाधनमन्त्री स्टिभन सिमले पेट्रोल स्टेसनमा काम गर्ने विदेशी कामदारहरूलाई सप्लाई कम्पनीले नभई पेट्रोल स्टेसनहरूले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

अवैध कामदारविरुद्ध मलेसिया सरकारले चलाएको अभियानले ४० प्रतिशत विदेशी कामदार रहेकोे शहरी क्षेत्रका धेरै पेट्रोल स्टेसनहरूलाई असर गरेको थियो । अवैधानिक विदेशी कामदारविरुद्व धरपकड भएपछि पेट्रोल स्टेसनका संचालकहरूले स्थानीयहरूलाई भाडामा लिन खोजिरहेका थिए । तर, उनीहरूले वातानुकूलित म्याकडोनाल्ड कम्पनीमा काम छाडेर पेट्रोल स्टेसनमा काम गर्न रुचि देखाएनन् । कामदारको अभावमा सामान्यतया २४ घण्टा चल्ने पेट्रोल स्टेसनहरूले एक चौथाइ समय कटाएर प्रतिदिन १८ घण्टा चलाउँदा राजस्वलाई समेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको हो ।

मलेसियामा होटलसहित अन्य क्षेत्रमा पनि विदेशी कामदारको अभाव छ । तर, उसले विदेशी कामदार भर्नामा लगाएको प्रतिबन्धको निर्णयमा सन् २०२५ को पहिलो त्रैमासिक अवधि अर्थात् आगामी चैतमा पुनर्विचार गर्ने बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise