काठमाडौंः फ्रि भिषा फ्रि टिकटमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका–५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका–६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइदिने भनि प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्याई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।