२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रकोपको पिर

ADV
२०८१ असार ६ गते ०६:३५
प्रकोपको पिर

मनसुन शुरु भएको केही दिन नबित्दै डेंगुको संक्रमण ७२ जिल्लामा  भेटिएको छ । इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार मुगु, डोल्पा, हुम्ला, जुम्ला र मुस्ताङ जिल्लामा मात्रै डेंगुको संक्रमण भेटिएको छैन । यी पाँच वटा हिमाली बाहेकका जिल्लाहरुमा एक हजार १७५ जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । मनसुन भर्खरै सुरु भएकाले डेंगुको संक्रमण अझ बढ्नेमा शंका छैन । गत वर्ष ७७ वटै जिल्लामा संक्रमण भेटिएको थियो । तराईदेखि हिमालसम्मका सबै जिल्लामा गत वर्ष संक्रमण देखिएकाले यसपटक पनि सतर्क हुन जरुरी छ । गत वर्ष ५२ हजार भन्दा बढीमा संक्रमण हुँदा २० जनाको मृत्यु भएको थियो । 

त्यसैले संक्रमणप्रति सचेतता अपनाउन जरुरी छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमणले २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । २४ घण्टादेखि ४८ घण्टासम्म जटिल समय मानिने डेंगुबाट पीडा बढी हुने गर्छ । पीडा बढी हुने भएकाले दीर्घ रोगीलाई डेंगु अरु संक्रमण जस्तै मृत्युको कारण बन्ने गरेको छ । विशेषगरी डेंगुको संक्रमण पानी जम्ने र गर्मी मौसम भएकाले ठाउँहरुमा बढी हुने गर्छ । केही वर्ष अघिसम्म डेंगुको संक्रमण तराई मधेशका जिल्लाहरुमा मात्रै देखिने गथ्र्यो । तर बिस्तारै पहाडी, उच्च पहाडी हुँदै हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ । यसको अर्थ हिमाली जिल्लाहरुसम्मै लामखुट्टे पुगेका छन् । हिमाली जिल्लाहरुमा लामखुट्टे पुग्नुमा जलवायु परिवर्तनसँगै फोहोर प्रमुख कारण हो । 

तर कारण जेसुकै भएपनि तत्काललाई संक्रमणबाट नागरिकको जीवन रक्षा प्राथमिकतामा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्दा डेंगुको संक्रमणबाट जोगिन सकिन्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न घर वरिपरीका खाल्डाखुल्डी पुर्ने, झुल ओढेर सुत्ने, लामो कपडा लगाएर बस्ने, धुँवा लगाउने जस्ता गतिविधि आवश्यक पर्छ । कमजोर आर्थिक अवस्थाका घरपरिवारमा झुल, लामो कपडा जस्ता सामग्री नहुन सक्छन् । त्यसका लागि सहयोगी भावना जरुरी हुन्छ । डेंगुबाट जोगिन आवश्यक सामग्री उपलब्ध गराउने र पूर्वसचेतनाका कार्यक्रम सञ्चालन गर्नु तीन तहकै सरकारको दायित्व समेत हो । विशेषगरी नागरिकको आँगनसम्म पुगेको स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । थप सहयोग प्रदेश र संघ सरकारले गर्नुपर्छ । आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र कक्षा कोठाका माध्यमबाट संक्रमण जोगिनेबारे सचेतना विस्तार गर्न सकिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise