काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो कामबाट प्रसिद्धिको उचाइमा पुगेका एक प्रतिभा हुन्, भुवन गन्धर्व । पर्दा पछाडि बसेर काम गर्न रुचाउने गन्धर्व फ्रन्टमा देखापरेका कुनै हिरोहरूभन्दा कम छैनन् । छोटो समयमा उनले आफ्नो क्षेत्रमा नाम र दाम कमाइसकेका छन् ।
२०६४ सालदेखि उनी यस यस क्षेत्रमा तबला वादकको रूपमा प्रवेश गरेका हुन् । भुवनले २० हजारभन्दा बढी गीतहरूमा आफ्नो कला देखाइसकेका छन् । गन्धर्व परिवारमा जन्मेर तबला वादकका रूपमा परिचित हुने उनी एक मात्र कलाकार हुन् ।
सानैदेखि सांगीतिक माहोलमा हुर्केका भुवनका बुबा जंगबहादुर गन्र्धव लोकप्रिय गायक तथा सारंगी वादक थिए । भुवनलाई तबला वादकको रूपमा स्थापित गराउन सारंगी सम्राट पिता जंगबहादुरको ठूलो हात छ । लामो समय भारतको अल इन्डिया रेडियोमा काम गरेका जंगबहादुर त्यहाँको सांगीतिक माहोलबाट र भारतीय तबला वादकहरूको कामबाट निकै प्रभावित थिए । आफ्नो छोरा भुवनलाई त्यस्तै तबला वादक बनाउन चाहन्थे ।
बुबाको इच्छा, चाहना र घर परिवारको वातावरणले थप हौसला मिलेको उनी बताउँछन् । भन्छन्, ‘घरमा हामी बाउछोराको सांगीतिक माहोल निकै जम्थ्यो । पिताजी सारंगी तारहरूमा खेल्नु हुन्थ्यो । म तबलामा रमाउँथे । किशोर कुमार, लता मंगेसकर र रफीका गीतहरू बढी गाइन्थ्यो ।’
त्यसो त भुवन सानो छँदा स्कुलका सांगीतिक कार्यक्रमहरूमा गीतहरू गाउने गर्थे । त्यस्ता कार्यक्रमहरूमा उनी धेरै पटक पुरस्कृत पनि भएका छन् । विद्यार्थी जीवनमा उनी गायकको रूपमा चिनिएका थिए । स्कुल स्तरीय कार्यक्रमहरूमा भाग लिन उनी दाङबाट विभिन्न ठाउँहरूमा पुग्थे ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने त्यो समयको लोकप्रिय कार्यक्रम मधुरिमा नेपालको, भोलिको नेपाल जस्ता कार्यक्रममा भाग लिएर पुरस्कारसमेत जितेका थिए । उनले २०६४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका हुन् । उनी तबलाका अलावा मादल, ढोलक वादकको रूपमा पनि उत्तिकै चर्चित छन् ।
उनले कुमारसिंह महाराजलाई आदर्श मान्छन् । कुमारसिंह महाराजका चेलासमेत हुन् । उनलाई सांगीतिक क्षेत्रमा अघि बढ्न कुमारसिंह महाराजले ठूलो सहयोग गरेको बताउँछन् ।
भुवनले दिनेश काफ्लेको ‘भन्नु नभा’को, आमा ! रातो चुरा, टीका, पोते किन नला’को ?’ बोलको गीतमा पहिलो पटक तबलाको धून दिएका थिए । यो २०६० सालतिरको कुरा हो ।
त्यसपछि यो क्षेत्रमा उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनी भन्छन्, ‘सारंगी नेपालको मौलिक बाजा हो । गन्धर्वहरूको पहिचान पनि हो । मेरो पिताजीले हजारौं नेपाली गीतहरूमा सारंगीको धून भर्नुभयो । जति सारंगी बजाउँदा मलाई सहज हुन्थो, तबलामा मैले त्यो सहजता पाइनँ । तर, आज तबलाबाट मैले जुन नाम र इज्जत पाएको छु, मेरा लागि त्यो नै ठूलो कुरा हो ।’
‘सारंगी हामी गन्धर्वहरूको पहिचान हो भने तबला मेरो’ भन्ने भुवनको भनाइ छ, ‘म दुवैलाई उत्तिकै सम्मान र इज्जत गर्छु । सिंगो नेपाली संगीत मेरा लागि घर हो ।’
तबला वादकको रूपमा उनी देशका कुना कन्दरादेखि विदेशका गल्लीगल्लीमा पुगेका छन् । भुवनले विभिन्न वरिष्ठ गायक, गायिका, संगीतकार, गीतकारहरूको एकल साँझमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।
बरिष्ठ गायक दीप श्रेष्ठ एकल साँझदेखि लिएर रामकृष्ण ढकाल, सत्य–स्वरूप आचार्य, गीतकार यादव खरेल, संगीतकार शम्भुजित बाँस्कोटा, सुनौलो सांगीतिक साँझ (अनुराधा पौडवाल, संजीवनी, दीपानारायण झा), संगीतकार रनजित गजमेर, यात्रा (आशा भोस्ले, साधना सरगम), अन्जु पन्त एकल साँझ, संगीतकार दीपक जंगम, गायक नरेन्द्र प्यासी, बीबी अनुरागीलगायतका सांगीतिक साँझहरू रहेका छन् ।
नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको हातबाट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानितसमेत भइसकेका भुवनलाई विभिन्न संघसंस्थाले नेपाली गीत, संगीतमा योगदान पुर्याएबापत सम्मान गरेका छन् । आधुनिक गीतदेखि लिएर लोक, पप, चलचित्र, भजन सबै प्रकारका गीतहरूमा भुवनको तबलाको जादू सुन्न सकिन्छ ।
पुराना पुस्ताका प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, मधु क्षेत्री, बमबहादुर कार्की, प्रेमराजा महत, नारायण रायमाझी, न्ह्यु ब्रजाचार्य, अन्जु पन्त, सत्य–स्वरूप आचार्य, राजु सिंह, आलोक श्रीदेखि नयाँ पुस्ताका गायक, संगीतकार सबैका प्रिय छन् भुवन ।